सूचनाको शक्ति - The Power Of Information

        

आज ग्याल्पो ल्होसार

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए ग्याल्पो ल्होसारको शुभकामना

सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।

फाइल तस्वीर

काठमाडौं । आज शेर्पा समुदायको पर्व, ग्याल्पो ल्होसार । सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको हो । सरकारी कार्यालयदेखि संघसंस्थाका सेवा आज बन्द रहनेछन् ।

ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । आज शेर्पा समुदायको पर्व, ग्याल्पो ल्होसारका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिएका छन् ।

विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान हो : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामथ्र्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताएकी छन् ।

ग्याल्पो ल्होसारका अवसरमा शुभकामना सन्देश दिँदै पर्वका माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भई हाम्रो बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने बताएकी हुन् ।

हाम्रो देश नेपाल जसरी भौगोलिक र प्राकृतिकरूपमा विविधतायुक्त छ, त्यसैगरी सामाजिक र सांस्कृतिक विविधतालेसमेत सुसज्जित छ भन्दै सन्देशमा राष्ट्रपतिले हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग भएको उल्लेख गरेकी छन् ।

ग्याल्पो ल्होसार पर्वले सबै नेपालीमा नयाँ उत्साह र उमङ्ग छर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उनले सन्देशमा गरेकी छन् ।

ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई मजबुद बनाउने उपराष्ट्रपतिको विश्वास

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन् ।

महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार–२१४९ का अवसरमा आज शुभकामना दिँदै उनले ग्याल्पो ल्होसारले नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा व्यक्त गरेका हुन् ।

हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, भेषशभूषासहितको विशिष्ट पहिचान रहेको उल्लेख गर्दै उनले ग्याल्पो ल्होसार आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको पर्वका रूपमा रहेको बताए ।

ग्याल्पो ल्होसारका अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका महायानी बौद्ध धर्मावलम्बी तथा सम्पूर्ण शेर्पा दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष देश भएको उल्लेख गर्दै उपराष्ट्रपतिले यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्व नेपालका गौरवका रूपमा रहेको बताएका छन् ।

सरकार अल्पसङ्ख्यक र सिमान्तकृतका अधिकारलाई सुनिश्चित गर्न क्रियाशील छ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्बो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएको बताएका छन् ।

उनले शुभकामना सन्देशमार्फत नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै यहाँ हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र सोअनुसार महासन्धि कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

उनले सरकार अल्पसङ्ख्यक र सिमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्वद्र्धनका लागि सदैव क्रियाशील रहेको बताएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार ०७:३१