बाँके । बाँकेमा मान्छेमाथि आक्रमण गरी ज्यान लिइरहेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको जंगलबाट आज बिहान साढे १० बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको हो ।
फत्तेपुरस्थित सिक्टाको पुर्वी नहर पारी राप्ती पीडित सामुदायिक बनबाट बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए ।
उनले भने–‘ बिहान ९ः४० बजेतिर डाट हानेको बाघलाई साढे १० बजे फेला पारिएको हो । करिव ८ वर्षको अजंगको भाले बाघ नियन्त्रणमा आएको छ ।’
उक्त स्थानमा बाघको आहाराका लागि विगत १२ दिनदेखि पाडो बाँधेर राखिएको थियो । बाघले पाडोलाई हिजो नै शिकार गरेकोमा आज बिहान नियन्त्रणमा लिन सफल भएको कँडेलले बताए ।
पाडोलाई शिकार गरी मासु खान आएको बाघलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता समितिलगायतको टोलीले नियन्त्रणमा लिएको हो ।
बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा गरी पाँच महिनामा बाघको आक्रमणमा परेर पाँच जनाले ज्यान गुमाई सकेका छन् ।
धेरै प्रयास गर्दा पनि लामो समयसम्म नरभक्षी बाघ नियन्त्रणमा लिन सकिएको थिएन । बाघ नियन्त्रणमा नआउँदा स्थानीय बासिन्दा त्रासमा बसिरहेका थिए ।
।