सूचनाको शक्ति - The Power Of Information

        

सांसद मोहन बानियाँलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित मुगुका सांसद मोहन बानियाँलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न जिल्ला अदालत, बाँकेले अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसूदन न्यौपानेले अदालतबाट प्राप्त समयमा थप अनुसन्धान र बानियाँको बयान प्रक्रिया थालिने  बताए ।

बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसको आधारमा प्रहरीले १६ फागुनमा उनलाई पक्राउ गरेको थियो ।

आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

बानियाँले आफूविरुद्ध आरोप झुट आरोप लगाइएको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार १८:४७