काठमाडौं । सेना दिवस एवम् महाशिवरात्रीको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेकाे छ । कार्यक्रममा नेपाली सेनाले परेड र सैनिक कला, संस्कृति प्रस्तुत गरेकाे छ ।
हरेक वर्ष महाशिवरात्रिका दिन नेपाली सेनाले सेना दिवस मनाउने गर्छ । सेनाले विभिन्न सांस्कृतिक कार्यक्रम र साहसिक खेलहरू प्रस्तुत गरेको थियो ।
शिवरात्रि एवम् सेना दिवसको बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा लगायतका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सेनाका परमाधिपति राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो । उहाँलाई सेनाको एक टुकुटीले सलामी अर्पण गरेको थियो ।
सैनिक मञ्च टुँडिखेलमा मुख्य समारोह तथा देशभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट र सब–युनिटले पनि आ–आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाइएको छ । २०४७ सालदेखि सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
कार्यक्रममा सेनाले राइफल र तोपबाट महाशिवरात्रिको बढाइँसमेत गरेको छ । त्यसैगरी बढाइँ कवाज अन्तर्गत नेपालको झण्डा, लहरे, एकठ्ठा, षट्कोण अनकार र सेना दिवस २०७८ को आकृतिसमेत प्रस्तुत गरिएको थियो ।
त्यसैगरी नेपाली सेना र नेपालको परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो । कार्यक्रममा विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो । समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय झण्डा र ब्यानर प्रदर्शन तथा पुष्टवृष्टि गरिएको थियो ।
तस्बिर : नेपाली आर्मी
।