सूचनाको शक्ति - The Power Of Information

        

रुस-युक्रेन युद्ध

रुसमाथि प्रतिबन्ध लगाएसँगै जसले युक्रेनलाई पठाउँदै सैन्य सहायता

युक्रेन–रसिया युद्धका क्रममा क्षतिग्रस्त भग्वाशेषसँगै युद्धरत सेना ।

काठमाडौं । गत बिहीबार रुसले युक्रेनमाथि विशेष सैन्य कारबाही घोषणा गर्यो । त्यससँगै रुसी सेनाले युक्रेनमा आक्रमण सुरु गरेको थियो । त्यसयता निरन्तर रुसी सेनाले युक्रेनमाथि आक्रमण गरिरहेको छ । युक्रेनले पनि आफ्नो क्षमताले भ्याएसम्म प्रतिकार गरिरहेको छ ।

तुलनात्मक रुपमा बलियो मानिएको रुसविरुद्ध सशक्त प्रतिकार गर्न युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आफ्ना नागरिकलाई हौसला दिइरहेका छन् । जेलेन्की आफैँ पनि युद्धमा होमिएका छन् । विश्वका धेरै मुलुकले रुसी आक्रमणको विरोध गरिरहेका छन् । त्यस्तै केही मुलुकले रुसमाथि सैन्य तथा आर्थिक सहयोग पनि उपलब्ध गराउन थालेका छन् ।

फ्रान्स

रुस र युक्रेनबीचको यसअघिको विवादमा मध्यस्थता गर्दै आएको फ्रान्सले यो युद्धमा युक्रेनलाई साथ दिने निर्णय गरेको छ । युद्ध सुरु हुनुपूर्व नै यसलाई रोक्न रुस तथा युक्रेनको भ्रमण गरेका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले शनिबार साँझ युक्रेनलाई थप सैन्य उपकरण उपलब्ध गराउने निर्णय गरेका छन् ।

त्यसका लागि युक्रेनलाई अहिलेको संकटको समयमा इन्धन पनि सहयोग उपलब्ध गराउने म्याक्रोनले उल्लेख गरेका छन् । फ्रान्सले युक्रेनलाई सैन्य सहयोगका साथै रुसमाथि पनि कडा आर्थिक प्रतिबन्ध लगाउने र स्वीफ्ट अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीमा पनि रुसलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

जर्मनी

रुसले गरेको आक्रमणको प्रतिकार गर्न जर्मनीले पनि युक्रेनलाई उल्लेख्य सहयोगको घोषणा गरेको छ । जर्मनीले युक्रेनको सहयोगको लागि एक हजार एन्टी ट्यांक हतियार र ५०० स्टिन्जर मिसाइल युक्रेनलाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै अन्य विभिन्न २५ मुलुकले पनि युक्रेनलाई दिँदै आएको सहयोग जारी राखिने बताएका छन् ।

ईयू

युरोपेली संघ (इयू)ले आइतबार युक्रेनलाई रुसविरुद्धको लडाइँमा सहयोग गर्नको लागि भन्दै नयाँ योजना सार्वजनिक गरेको छ । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनले पहिलो पटक कुनै आक्रमणमा परेको मुलुकलाई ईयूले पहिलोपटक हतियार खरिद र आपूर्तिका लगि वित्तीय सहायता दिन लागेको उल्लेख गरेकी छिन् । त्यस्तै ईयूले रुसमाथिको आर्थिक प्रतिबन्ध पनि बढाउने निर्णय गरेको छ ।

अमेरिका

रुसले आक्रमण गरेसँगै अमेरिकाले पनि युक्रेनलाई सहयोगको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत शुक्रबार युक्रेनलाई ३५ करोड डलर बराबरको हतियार सहयोग गर्ने घोषणा गरेका हुन् । अमेरिकाले युक्रेनलाई एन्टी ट्यांक हतियार र स्टिन्जर मिसाइल जस्ता हतियार माग गरेको भन्दै अमेरिकाले त्यसका लागि हतियार सहयोग दिन लागेको हो ।

नेदरल्याण्ड्स

नेदरल्याण्ड्सले पनि युक्रेनलाई सकेसम्म छिटो २०० स्टिन्जर हवाई सुरक्षा रकेट प्रदान गर्ने घोषणा गरेको छ । शनिबार नेदरल्याण्ड्सको सरकारले संसद्लाई उक्त निर्णयसहितको पत्र पठाएको हो ।

बेल्जियम

बेल्जियमले युक्रेनलाई २ हजार मेसिन गन र ३८ सय टन इन्धन सहयोग गर्ने भएको छ ।

बेलायत

बेलायतले पनि रुसको आक्रमणको सामना गरिरहेको युक्रेनलाई मानवीय तथा सैन्य सहयोग गर्ने निर्णय गरेको छ । युद्ध सुरु हुनुभन्दा पहिला नै युक्रेनलाई सैन्य सहयोगको नयाँ प्याकेज ल्याउने घोषणा गरेको बेलायतले ५ करोड ३० लाख डलरको मानवीय सहायताको पनि घोषणा गरेको छ । यो सहायताले युक्रेनलाई अहिलेको कठिन परिस्थितिसँग लड्न सहयोग पुग्ने बेलायतको बुझाइ छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार १४:११