सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसको जिल्ला अधिवेशन

कांग्रेस बाँकेमा त्रिपक्षीय भिडन्त, संस्थापनकै दुई जना चुनावी मैदानमा

बाँके । नेपाली कांग्रेस बाँकेको सभापति पदका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । फागुन १९ गते हुन लागेको निर्वाचनका लागि सभापति पदमा सुरेन्द्रबहादुर हमाल, नारायणप्रसाद गौडेल र बादशाह कुर्मीबीच प्रतिस्पर्धा हुने भएको हो ।

उनीहरूमध्ये हमाल र कुर्मी संस्थापन समूहका हुन् भने गौडेल कांग्रेस नेता शेखर कोइराला पक्षका हुन् । सभापतिमा त्रिपक्षीय भिडन्त हुने भएपनि अन्य पदमा भने संस्थापन र कोइराला समूहका उम्मेद्वारहरू मात्र मैदानमा उत्रिएका छन् ।

पटक पटक स्थगित हुँदै आएको बाँकेको अविधेशन यस पटक भने निधारित मितिमै हुने निर्वाचन समितिले बताएको छ । लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्रीसमेत रहेका हमाल बाँके क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधी हुन् ।

उनी संस्थापन समूहका नेता हुन् भने संविधान सभाका सदस्य रहेका नेता कुर्मी क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि चुनिएर सभापतिको प्रतिस्पर्धामा उत्रिएका हुन् । यस्तै कांग्रेस बाँकेका वर्तमान जिल्ला सदस्य तथा पूर्व क्षेत्रीय सभापति रहेका गौडेल क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधी निर्वाचित भएर सभापतिको उम्मेद्वार बनेका हुन् ।

कांग्रेसको विधान अनुसार जिल्ला सभापतिको उम्मेदवार बन्नका लागि महाधिवेशन प्रतिनिधी अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ । यसअघि सभापति पदमै वर्तमान उपसभापतिसमेत रहेका नेता सुनिलनरसिंह राणाले पनि उम्मेदवारी दर्ता गराएका थिए । तर, उनले उम्मेदवारी मनोनयन फिर्ता लिइसकेका छन् । जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यले सभापति पदमा अब तीन जनाबीच प्रतिस्पर्धा हुने बताए ।

बाँकेमा कांग्रेस सभापति को होला भन्ने आम चासो रहेको छ । तीन जनामध्ये सभापति पदमा कसले बाजी मार्ला भन्ने चर्चा अहिले बाँकेमा चर्चा चुलिएको छ । क्षेत्रिय प्रतिनिधि अर्थात मतदाताहरूको विवरण हेर्दा बाँकेमा संस्थापन पक्ष बलियो देखिएको छ । यसअघि भएको पालिका र क्षेत्रिय अधिवेशनको नतिजाले पनि त्यसको पुष्टि गरेको छ ।

तीन निर्वाचन क्षेत्र रहेको बाँकेको क्षेत्र न १ मा संस्थापन इतर समूह बलियो देखिए पनि बाँकी क्षेत्रमा संस्थापन पक्षको बाहुल्यता रहेको छ । त्यस कारण पनि बाँके सभापतिको नतिजा पहिलो चरणमै आउला भन्ने अनुमान गर्न सकिँदैन । पहिलो चरणमा ५० प्रतिशत मत कुनै पनि उम्मेद्वारको नपुगे बढि मत ल्याउने दुई जना उम्मेद्वारबीचमा प्रतिस्पर्दा हुने छ । झण्डै १५ सय मतदाता रहेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार १३:३८