बाँके । बाँके राष्ट्रिय निकुञ्जमा रहेका बाघले मानव बस्ती नजिक पुगेर मान्छे मार्ने क्रम बढ्दै गएपछि बाघ संरक्षणका लागि स्थापना गरिएको निकुञ्जको क्षेत्र विस्तार गर्नुपर्ने माग भएको छ । बाघबाट मान्छे जोगाउन र वन्यजन्तु–मानव द्वन्द्व घटाउन निकुञ्ज विस्तारको आवश्यकता देखिएको संरक्षणकर्मीहरु बताउँछन् ।
कोहलपुर मध्यवर्ती क्षेत्रका अध्यक्ष सावित्रा पुनले बाँके निकुञ्जमा बाघ बढेर ३२ वटा पुगेकाले निकुञ्ज विस्तार गर्न आवश्यक रहेको बताइन् । उनले निकुञ्ज विस्तारको विषयमा समयमै ध्यान नदिए दुर्घटना बढ्दै जाने र त्यसको प्रभाव मानिसमा बढी पर्ने बताइन् । निकुञ्जमा पानीको स्रोत निकै कम रहेकाले जनावर पानी खान बाहिर निस्कँदा वन्यजन्तु र मानवबीच द्वन्द्व बढेको पुनको ठहर छ ।
राप्तीसोनारी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर विष्टले पनि बाघ वृद्धि भएपछि निकुञ्ज क्षेत्रको विस्तारमा तत्काल ध्यान दिनुपर्ने बताए । ‘बाघबाट मध्यवर्ती क्षेत्रका जनता त्रसित छन् । छाडा चौपायालाई आहारा बनाउने भएकाले भविष्यमा बाघ अझै बस्तीमा आउने खतरा छ, त्यसैले निकुञ्ज विस्तारमा ढिलाइ गर्नुहुँदैन,’ उनले भने ।
निकुञ्जमा पानीका स्रोत सुक्दै जाँदा पानी खान वन्यजन्तु राप्ती नदीमा आउँदा दुर्घटना बढ्दै गएकाले यसको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने विष्टको भनाइ छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले पनि बाँके निकुञ्जले धान्न सक्नेभन्दा धेरै बाघ भएकाले मानवलाई खतरा बढ्दै गएको बताए ।
उनले निकुञ्जले धान्न नसक्नेभन्दा बढी बाघ भएकाले निकुञ्ज क्षेत्रको विस्तारको विकल्प नरहेको बताए । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहले निकुञ्ज दक्षिणमा राप्ती नदीसम्म र पूर्वमा दाङको अर्जुन खोलासम्म विस्तार गर्न सकिने भएकाले त्यसतर्फ विचार भइरहेको बताए ।
।