बझाङ । बझाङमा १६ वर्षअघिको बीभत्स हत्यामा संलग्न २ जना फरार अभियुक्त पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बझाङले १६ वर्षपछि पक्राउ गरेको हो ।
जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. ७ ज्याडाका मीनबहादुर भण्डारीको हत्या गरी फरार भएका ४० वर्षीय वीरेन्द्र राना र ३३ वर्षीया रामदेवी रानालाई प्रहरीले पक्राउ गरेको हो ।
हत्या गरी फरार रहेका उनीहरुको खोजतलास गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । नेपाल भारतको सीमानाका गड्डाचौकी एरियाको बाटो हुँदै नेपाल आउँदै गरेको विशेष सूचनाका आधारमा उनीहरुलाई कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङको समन्वय तथा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो महाराजगन्ज र स्थानीय प्रहरीको सहयोगमा उनीहरुलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो ।
पुनरावेदन अदालत डोटीले २०६६ असार ०८ गते रामदेवी रानालाई ३ वर्ष र सर्वोच्च अदालतको २०६९ वैसाख २२ गतेको फैसलाले वीरेन्द्र रानालाई २० वर्ष कैद सजाय सुनाएको थियो ।
फैसलापछि उनीहरु दुवैजना फरार रहेका थिए । जयपृथ्वी नगरपालीका–०७ (साबिक सुबेडा गाविस–८ ज्वाडाका मीनबहादुर भण्डारीको वीरेन्द्र राना, प्रकाश राना, मंगल राना, रामदेवी राना र हिरादेवी रानाले घरेलु हतियार बन्चरो र हँसियाको प्रयोग गरी बीभत्स हत्या गरेका थिए ।
हत्यामा संलग्न प्रकाश राना यसअघि नै धनगढीबाट पक्राउ परिसकेका छन् । शनिबार पक्राउ परेका दुवैजनालाई अदालतको अनुमति लिई कारागार पठाइएको छ ।
वीरेन्द्र रानालाई बझाङ कारागारमा राखिएको छ भने त्यहाँ महिला बन्दी राख्ने व्यवस्था नभएका कारण रामदेवी रानालाई डडेलधुरा कारागारमा पठाइएको डिएसपी विष्टले बताउनुभयो ।
।