सूचनाको शक्ति - The Power Of Information

        

आगामी २४ घण्टा ज्यादै महत्वपूर्ण हुने युक्रेनी राष्ट्रपतिको भनाइ

काठमाडौं । आगामी २४ घण्टा ज्यादै महत्वपूर्ण हुने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएकाे छ ।

पाँच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्ताका लागि युक्रेन र बेलारुसको सिमा क्षेत्रमा टोली पठाउने हुनुभएको हाे । ५ दिनदेखि रुसको भीषण आक्रमण सामना गरिरहेको युक्रेन रुससँग बिना शर्त वार्तामा बस्न तयार भएको छ ।

तर वार्ता कति बेला र कस्ता एजेण्डामा हुने भन्ने चाहीँ प्रष्ट भईसकेको छैन । देशको दोस्रो ठूलो शहर खारकीव रुसी सेनाको कब्जामा जानबाट रोक्न युक्रेनी सेनाले कठोर संघर्ष गरिरहेको बेला राष्ट्रपति जेलेन्स्कीले आगामी २४ घण्टा झन् कठिन हुने बताउनुभएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसंगको टेलिफोन वार्ताका क्रममा जेलेन्स्कीले यस्तो बताउनुभएको हो । राजधानी किभलाई रुसी सेनाले चारैतिरबाट घेरा हालेका छन् भने शहरबाट बाहिर निस्कन मुश्किल रहेको त्यहाँका मेयरले बताएका छन् । उता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक बललाई उच्च सतर्क अवस्थामा रहन आदेश दिनुभएको छ ।

यता, युरोपेली देशहरुले रुसी विमानहरुका लागि आफ्नो आकाश बन्द गरेका छन् भने रुसी बैंकहरुलाई स्वीफ्ट प्रणालीबाट हटाएका छन् ।

यस्तै युक्रेनलाई हतियार सहयोग गर्ने र युक्रेनबाट आउने शरणार्थीहरुलाई लिने निर्णय पनि युरोपेली देशहरुले गरेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार ०८:५६