सूचनाको शक्ति - The Power Of Information

        

भ्रष्टाचार गर्नेलाई समाजबाटै बहिस्कार गरौं : आयुक्त पौडेल

बझाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा सरोकारवालाहरुसँग आयोगको भुमिका विषयक छलफल गरेको छ ।

भ्रष्टाचार नियन्त्रण र सुसाशन प्रवर्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरोकारवालहरुको भुमिका बारेमा आइतबार जिल्ला प्रशासन कार्यालय बझाङको सभाहलमा स्थानीय तहका जनप्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख, बुद्घिजिवी, संचारकर्मीसंग छलफल तथा सुझाव संकलन समेत गरेको हो ।

कार्यक्रममा बझाङ जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीहरुको विवरण समेत प्रस्तुत गरिएको छ । जसमा बझाङ जिल्लाका हालसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक बर्ष २०७८/०७९ को माघ मसान्तसम्म स्थानीय तह सम्बन्धी ५८ वटा उजुरी परेको र संघ र प्रदेशका योजना सम्वन्धी ६१ उजुरी परेका छन् ।

माघ मसान्तसम्म स्थानीय तहतर्फ सबैभन्दा बढी बुंगल नगरपालिकाका २२ वटा र सबैभन्दा कम मष्टा र थलारा गाउँपालिकाका १–१ उजुरीमात्र परेका छन् भने, सुर्मा, केदारस्युँ, दुर्गाथली, वित्थडचिर गाउँपालिकाका र जयपृथ्वी नगरपालिकाका ४–४ वटा, खप्तडछान्ना ३, तलकोटका २, छविसपाथिभेरा ६ र साइपाल गाउँपालिकाका ३ वटा उजुरी परेका छन् ।

कार्यक्रममा बझाङमा १० बर्षदेखि रुपातोला तलकोट जोड्ने देवशैन पुल निर्माण नभएको, ताक्लाकोट सडक निर्माणको काम सुस्त भएको संघ प्रदेशबाट आउने योजनाहरु पहुँच र कमिसनको आधारमा आउने भएकाले गुणस्तरीय काम नगरी आ–आफ्ना घरपरिवार उपभोक्ता समितीमा राखेर भ्रष्टाचार गर्ने गरेको नागरिक अगुवा धर्मजंङबहादुर सिंहले बताए । सिंहले हुलाक बचत बैङ्कमा बचत भएको रकम हिनामिना भएको घटनाको समेत ध्यानाकर्षण गराए ।

कतिपय स्थानीय तहको काम राम्रो भएता पनि आफैले नपाएको भन्दै व्यक्तिगत रिसिबीका कारण अख्तियारमा उजुरी हाल्ने गरेको हुँदा आयोगले यसमा स्थलगत अनुगमन गरी छानविन गर्नुपर्ने, प्रदेशबाट आएका योजनाहरुका बारेमा स्थानीय सरकारलाई कुनै पनि जिम्मेवारी वा रेखदेख गर्नुका साथै काम भए नभएको सिफारीससमेत दिन नपर्ने भएकाले कतिपय योजनाहरु प्रदेशबाट ल्याएर प्रदेशमै भुक्तानी लिने भएकाले धेरै गुनासो आउने गरेको केदारस्युँ गाउँपलिका अध्यक्ष इन्द्रबहादुर भण्डारीले बताए ।

नेपाल सबैभन्दा बढी भ्रष्टाचार गर्ने मुलुक भनेर बदनाम भैरहेकाले भ्रष्टाचार रोक्नका लागि आयोगले साना ठुला नभनेर कानुनबमोजिम आफ्नो जिम्मेवारिका साथ अघि बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा.हरि पौडेलले बताए । आयुक्त डा.पौडेलले कसैले भ्रष्टाचार गरेर अकुत सम्पत्ती कमाएको छ भने त्यस्ता व्यक्तिहरुलाई समाजबाट पनि बहिस्कार गर्दै सबैले आ–आफ्नो क्षेत्रबाट भ्रष्टाचार गर्दिन र गर्न दिँदैन भनेर प्रतिवद्धता गरेमा मात्रै भ्रष्टाचारमा कमी आउने बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतवार १७:१६