बाँके । नरैनापुर गाउँपालिका–७ बालापुरकी २० वर्षीया सन्नुदेवी यादवलाई गत पुस १ गते प्रसूतिका लागि लक्ष्मणपुर स्वास्थ्य चौकी पुर्याउँदा होसमा थिइनन् । स्वास्थ्यचौकीले उनलाई भेरी अस्पतालमा रिफर गर्यो । पिसाब थुनिएकाले तत्काल बच्चा जन्माउने प्रक्रिया सुरु हुन सकेन ।
कमजोर शरीरमा रगतको कमी भएपछि उनलाई आईसीयूमा भर्ना गरियो । उपचारपछि समेत अवस्था सामान्य नभएपछि उनको मृत्यु भयो । उनले एकपटक पनि गर्भ जाँच गराएकी थिइनन्, जसले गर्दा उनको स्वास्थ्य अवस्था खुलेन । मृतकका मामा काशीराम यादवले समयमा अस्पताल पुर्याए पनि बचाउन नसकिएको बताए ।
‘अप्रेसन गर्न पनि होसमा थिइनन्,’ उनले भने, ‘आमा र बच्चा दुवै गुमाउनुपर्यो ।’ गत भदौ ३० गते सुर्खेतबाट रिफर भएर भेरी अस्पतालमा ल्याइएकी २२ वर्षीया सपना आले अस्पताल पुग्दा बेहोस थिइन् । बच्चा जन्माउने क्रममा धेरै रगत बगेपछि अचेत भएकी थिइन् । उनलाई आईसीयूमा भर्ना गरियो ।
चिकित्सकका अनुसार उपचारका क्रममा धेरै समस्या देखिए । उनलाई बचाउन सकेनन् । जानकी गाउँपालिका–५ की २० वर्षीया सीता हरिजन सुत्केरी व्यथा लागेपछि गत कात्तिक १३ गते अस्पताल भर्ना भइन् । उनको यो पहिलो गर्भ थियो । उनले एकपटक पनि गर्भावस्थामा जाँच गराएकी थिइनन् ।
रक्तस्राव बढ्दै गएपछि उनी अचेत अवस्थामा पुगिन् । कात्तिक ३१ गते गर्भावस्थामै उनको मृत्यु भयो । ‘गर्भवती समयमा गर्नुपर्ने जाँच पूरा नगरेका अन्तिम समयमा उपचार सम्भव भएन,’ भेरी अस्पतालका वरिष्ठ नर्सिङ निरीक्षक जयन्ती श्रेष्ठले भनिन्, ‘राज्यले दिएको सुविधा पनि महिलाले पाउन सकेका छैनन् ।’
बाँके सुगम जिल्ला हो । वडादेखि जिल्लामा थुप्रै स्वास्थ्य संस्था छन्, जसमा गर्भवतीको स्वास्थ्य जाँच हुने गर्छ । स्वास्थ्यमा राम्रो पहुँच भएकै जिल्लामा मातृ मृत्युदर भने घट्न सकेको छैन । राज्यका तीनै तहदेखि संघसंस्था कोरोना नियन्त्रण, उपचारमा मात्रै केन्द्रित हुँदा गर्भवती आमाको सुरक्षा बेवास्ता देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार गत तीन आव र चालु आवको चार महिनामा गरी ८३ जना आमाको मृत्यु भएको छ । कार्यालयकी पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले २०७६/०७७ मा ३५ जना आमाको बाँकेमा मृत्यु भएको तथ्यांक रहेको बताइन्, जसमध्ये बाँकेका १४ जना छन् । अधिकांश आमाको मृत्यु स्वास्थ्य संस्थाहरूमा हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सीमावर्ती जिल्लाका बासिन्दा उपचारका लागि भारत गएर त्यहीं मृत्यु भएमा त्यो तथ्यांक भने स्वास्थ्य को तथ्यांकमा समावेश गरिएको छैन । आव २०७७/०७८ मा ४१ जना गर्भवती/सुत्केरीको मृत्यु भएको छ । जसमध्ये बाँकेका मात्रै २४ जना रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ । चालु आवमा सात जना आमाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स श्रेष्ठले मातृ मृत्युदर चिन्ताजनक विषय भएकाले यसतर्फ सरोकारवाला निकायले गम्भीररूपमा लिनुपर्ने बताइन् । ‘आमाको मृत्यु हुनुमा धेरै कारण हुने भएकाले त्यसलाई न्यून गर्न राज्य, स्वास्थ्यकर्मी, परिवार तथा स्वयं आमाले स्वास्थ्यलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भनिन्, ‘गर्भवतीको स्वास्थ्यप्रति परिवार सचेत नहुँदासम्म गर्भवती आमाको मृत्यु रोक्न सकिंदैन ।’
गर्भवतीबारे बृहत् जनचेतना जगाउने, नियमित स्वास्थ्य परीक्षण गर्ने, जटिल देखिनेको समयमै उपचार गर्ने हो भने मातृ मृत्युदर घट्न सक्ने उनको भनाइ छ । आमा सुरक्षाका लागि विगतमा धेरै कार्यक्रम चलेको र अहिले पनि आमा सुरक्षाका चेतनामूलक कार्यक्रम भइरहे पनि त्यसले अपेक्षित परिणाम दिन नसकेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
‘कोरोना कालमा पनि आमाको सुरक्षामा ध्यान नै पुर्याइएन । त्यसका लागि छुट्टै व्यवस्था गरेको भए केही आमाको ज्यान पक्कै पनि जोगिन सक्थ्यो,’ भेरी अस्पतालमा कार्यरत नर्स वसुन्धरा ज्ञवालीले भनिन्, ‘गम्भीर अवस्थामा अस्पताल पुर्याउँदा कतिपय आमाको ज्यान जाने गरेको छ ।’ घरमै बच्चाको जन्म होला भनेर कुर्ने र अवस्था जटिल भएपछि अस्पताल पुर्याउँदा पनि आमाको ज्यान जाने गरेको उनले सुनाइन् ।
‘पोषणको कमी, रगतको कमी, गर्भावस्थामा हेरचाहको कमी हुँदा आमाको ज्यान खतरामा पर्ने गर्छ,’ उनले भनिन्, ‘घरमा जन्माउँदा बच्चा र आमा दुवैलाई संक्रमणको जोखिम हुन्छ । अत्यधिक रक्तश्राव हुँदा दुवैको ज्यानसमेत जानसक्छ । त्यसैले स्वास्थ्य संस्थामै जन्माउँदा शिशु र आमाको ज्यान जोगाउन सकिन्छ ।’
किशोरी अवस्थामा आमा बन्नेहरू पनि निकै जोखिममा हुने गरेका छन् । भेरी अस्पताल नेपालगन्जकी नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले कम उमेरमा आमा बन्दा किशोरीहरूको ज्यान जोखिममा पर्ने गरेको बताइन् । उनले गर्भवतीको मृत्युदर कम गर्न किशोरी अवस्थामा आमा नबन्ने, गर्भवतीको स्वास्थ्य परीक्षण र स्वास्थ्यको हेरचाह नियमित गर्नुपर्ने बताइन् ।
तीन वर्षमा ३०० शिशुको मृत्यु
बाँकेमा गत तीन आर्थिक वर्षमा ३०० भन्दा बढी नवजात शिशुको मृत्यु भएको छ । गर्भवती आमाको हेरचाहमा लापरबाही हुँदा शिशुको ज्यान गएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार गत तीन आवमा बाँकेमा ३२७ नवजात शिशुको मृत्यु भएको छ ।
आव २०७५/०७६ मा १९, २०७६/०७७ मा १९७ र ०७७/०७८ मा १११ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले बताइन् । गभर्वती आमाको पोषणमा कमी, घरमै बच्चा जन्माउँदा, जन्मिएको बच्चाले तत्कालै स्वास्थ्य उपचार नपाउँदा नवजात शिशुको ज्यान जाने गरेको हो । स्वास्थ्य सर्वेक्षण तथ्यांक अनुसार नेपालमा १ हजार जीवित जन्ममा २१ जना नवजात शिशुको मृत्यु हुन्छ ।
ती नवजात शिशुमध्ये धेरैको मृत्यु जन्मिएको २४ घण्टाभित्रमा हुन्छ । भेरी अस्पतालको तथ्यांकअनुसार २०७७/०७८ मा १०३ जना मरेका बच्चा जन्मिए । जन्मिएको सात दिनभित्र मृत्यु हुने शिशुको संख्या ३६ छ । सात दिनपछि ९ जना मरेका छन् । २०७६/०७७ मा १४४ जना मरेका बच्चा जन्मिएका छन् । ३९ जनाको सात दिनभित्र मृत्यु भएको छ ।
।