सूचनाको शक्ति - The Power Of Information

        

पल शाहविरुद्ध अर्को जाहेरी लिएर चितवन पुगिन् पीडित

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी लिएर पीडित चितवन पुगेकी छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनमा अर्को किटानी जाहेरी दिन उनी आइतबार आफन्तहरूसहित पुगेकी हुन् ।

प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा चितवनको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ ।

‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नवराज अधिकारीका अनुसार जाहेरीमा उल्लेख भएका विवरण अध्ययनपछि मात्रै दर्ता हुने/नहुने टुंगो हुनेछ ।

जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर, उनी फरार भएका थिए ।

आइतबार शाह आफैं तनहुँ प्रहरीमा हाजिर भएका छन् । उनी हाजिर भइसकेपछि चितवनमा जाहेरी दर्ता हुन लागेको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतवार १४:५७