सूचनाको शक्ति - The Power Of Information

        

समाचार

प्रहरीसमक्ष पल शाहले भने, ‘म निर्दोष छु, अदालतमै प्रमाण पेस गर्छु’

काठमाडौं । चर्चित अभिनेता एवम् मोडल पल शाह अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा छन् । आइतबार उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । चार दिनदेखि प्रहरीले खोजी गरिरहेको भए पनि पक्राउ गर्न सकेको थिएन । आइतबार बिहान उनले सामाजिक सञ्जालमार्फत आजै आत्मासमर्पण गर्ने जानकारी गराएका थिए ।

उनले बिहान फेसबुकमा स्टाटस लेखेका थिए भने पछि भिडियो पनि सार्वजनिक भएको छ । उनले भिडियोमार्फत भनेका छन्, ‘आज जाहेरी परेको ३/४ दिन भयो होला । सबैले भन्नु भएको रहेछ किन कहाँ गयो ? के भयो, कस्तो छ अवस्था ? मेरो अवस्था ठिक छ अहिले ।’ आत्मसमर्पण गर्न ढिलो गर्नको कारण घर व्यवहार मिलाउनुपरेको र स्वास्थ्य स्थिति पनि कमजोर भएको बताएका छन् ।

उनले भनेका छन्, ‘प्रहरीसमक्ष आत्मसमर्पण गरिसकेपछिको अवस्था जे पनि आउन सक्छ घरमा । व्यवहार मिलाउनुपर्यो । किनभने घरमा गार्जेन भनेकै म हो । बुबा, ममी बहिनी सबैको गार्जेन मै हो । सबै मिलाउनु थियो । त्यही भएर म नेपाल प्रहरीसामु उपस्थित हुन सकिन । त्यसप्रति म माफी माग्न चाहन्छु । मेरो कारण कसैलाई अप्ठ्यारो परेको छ भने क्षमा चाहन्छु । आज म आत्मसमर्पण गर्दैछु र कानुन कार्यान्वयनमा म सहयोग गर्नेछु ।’

उनले आफू निर्दोष भएको दाबी गर्दै अदालतमा त्यस्ता प्रमाण दिने बताएका छन् । ‘अब म मेरोतर्फबाट आफ्ना कुराहरु राख्नेछु । मसँग भएका प्रमाणहरु पनि दिनेछु । मलाई डे वान बाटै फसाउँदै फसाउँदै यहाँसम्म ल्याइएको छ । म त्यो पनि भन्ने छु सम्मानित अदालतमा’, पलले भिडियोमा भनेका छन् । प्रहरी नियन्त्रणमा भए पनि गत शुक्रबार मात्रै रिलिज भएको फ्लिम ‘म यस्तो गीत गाउँछु २’ दर्शक र निर्माता टिमसँग बसेर हेर्ने चाह व्यक्त गरेका छन् ।

‘मेरो तीन चार वर्षदेखिको एउटा सपना थियो नेपाली फ्लिम दर्शकहरुसँग बसेर हेर्ने । मैले सुनेअनुसार शुक्रबार र शनिबार एकदमै राम्रो व्यापार गर्यो रे । एकदमै खुसी पनि लागेको छ । मेरो सपना थियो तपाईहरु सँगसँगै बसेर फ्लिम हेर्ने, त्योचाहिँ पूरा भएन । अब प्रहरी समक्ष गइसकेपछि पुरा नहोला पनि । नेपाल सरकारलाई पनि म अनुरोध गर्न चाहन्छु’, पलले भनेका छन् । सम्भव भए त्यो सपना पूरा गरिदिन उनले अनुरोध गरेका छन् ।

उनले दाबी गरेका छन्, ‘म आजदेखि प्रहरीसामु हुनेछु र अब सम्मानित अदालतले जे निर्णय गर्नेछ त्यसमा म खुशी हुनेछु । यति भन्न चाहन्छु, म बेकसुर छु निर्दोष छु ।’ आइतबार नै जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गर्नेछ । पोखरा घर भएकी एक गायिकामाथि बलात्कार गरेको भन्दै उनका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा गत बुधबार जाहेरी दिएका थिए । ती गायीका १८ वर्षमुनिकी हुन् ।

विवाह गर्ने प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । पलको घर दाङ र गायिकाको घर पोखरा भए पनि अन्तिम घटनास्थल तनहुँ भएकाले तनहुँमा जाहेरी दर्ता भएको हो । मुलुकी अपराध संहिताअनुसार १६ वर्षभन्दा बढी र १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । पहल शाहले करणी गरेको ठहर भएमा यही सजाय हुनसक्छ । कानुनले १८ वर्षमुनिका किशोरीसँग सहमतिमा यौनसम्बन्ध गरे पनि बलात्कार मान्छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतवार १४:२२