काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले गरेको उद्धारको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार अमेरिकाले जेलेन्स्कीलाई सहयोग गर्नको लागि भन्दै युक्रेनबाट उद्धारको प्रस्ताव गरेको थियो ।
‘यहाँ युद्ध चलिरहेको छ । मलाई गाडी होइन, गोलाबारुद चाहिएको छ,’ जेलेन्स्कीलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले उल्लेख गरेको छ । रुसले गरेको आक्रमणको डटेर सामना गर्ने प्रतिबद्धता जनाका जेलेन्स्कीले सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।
पूर्व कमेडियन तथा कलाकारसमेत रहेका जेलेन्स्कीले यसअघि रुसलाई भनेका थिए, ‘तिमीले हामीमाथि आक्रमण गर्दा हाम्रो अनुहार देख्नेछौं ढाड होइन ।’ शुक्रकार जेलेन्स्कीले एक भिडियो पोस्ट गरेका थिए ।
जसमा उनीसहित उनका प्रमुख सहयोगीहरु पनि साथमा देखिएका थिए । किभमा आक्रमण भएपछि जेलेन्स्की देश छाडेर भागे भन्ने हल्लाका बीच उनले उक्त भिडियो सार्वजनिक गरेका हुन् । ‘हामी सबै यहाँ छौं र हामी यहीँ रहनेछौं,’ भिडियोमा उनले भनेका छन् ।
ईयुको सदस्य बनाउन युक्रेनी राष्ट्रपतिको अनुरोध
युरोपेली संघ (ईयु)को सदस्य बनाउन युक्रेनले अनुरोध गरेको छ । अहिलेसम्म ईयुको सदस्य नभएको युक्रेनले रुसको आक्रमणपछि आफूलाई पनि सदस्य बनाउन ईयुलाई अनुरोध गरेको हो । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले तत्कालै आफ्नो देशलाई पनि संघको सदस्य बनाउन अनुरोध गरेका हुन् ।
‘अहिले हामी संकटपूर्ण अवस्थामा छौँ । यसबारे धेरै छलफल र बहस नगरौँ,’ उनले भनेका छन्, ‘युरोपेली संघले युक्रेनलाई जतिसक्दो चाँडो आफ्नो सदस्य बनाओस् ।’ विगत तीन दिनदेखि रुसले युक्रेनमाथि भिषण हमला गरिरहेको छ ।
रुसको आक्रमणमा परेर युक्रेनका धेरै सैनिक र झण्डै २०० सर्वसाधारणले समेत ज्यान गुमाइसकेका छन् । यसैबीच युक्रेनमाथि हमला गरिरहेका रुसी फौज तुरुन्त फिर्ता लिन गरिएको संकल्प प्रस्ताब संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकले अस्वीकृत गरेको छ ।
उक्त प्रस्तावलाई रूसले भिटो लगाएका कारण विफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनमाथि रुसले आक्रमण जारी राखेपछि अमेरिका र बेलायतसहित २८ देशले रुसविरुद्ध कतिपय प्रतिबन्धात्मक घोषणा गरेका छन् । रुसको आक्रमणपछि युक्रेनबाट १ लाख २० हजारभन्दा बढी नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
।