सूचनाको शक्ति - The Power Of Information

        

एमसीसी अनुमोदन गर्न गठबन्धनमा सहमतिपछि भीम रावल आक्रोशित

काठमाडौं । लामो रस्साकस्सीपछि अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गर्न सत्ता गठबन्धनभित्रै सहमति जुटेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले आक्रोश व्यक्त गरेका छन् ।

सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोडेर भए पनि एमसीसी अनुमोदनका लागि प्रमुख प्रतिपक्षी एमालेसँग वार्ता थालेपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्न सहमत भएका हुन् । तर यसो भन्नु जनतालाई झुक्याउनु हो भन्दै एमाले नेता रावलले विरोध गरेका हुन् ।

‘एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो,’ रावलले आइतबार बिहानै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो महाकाली सन्धिको ‘संकल्प प्रस्ताव’जस्तै निहीत सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नुजस्तै हो । देशघाती चरित्र !’

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतवार १०:०२