सूचनाको शक्ति - The Power Of Information

        

सदाबहार सामुदायिक वनमा अनियमितता

फाइल तस्वीर

बाँके । नरैनापुर गाउँपालिका–४ मा पर्ने सदाबहार सामुदायिक वनका पदाधिकारीकै मिलेमतोमा अनियमितता र हिनामिना भएको आरोप उपभोक्ताले लगाएका छन् । वनका पदाधिकारीले मनपरी रूपमा काठ कटान र बिक्रीसँगै आर्थिक हिनामिनाको आरोप लगाउँदै उपभोक्ताले छानबिन र कारबाहीको माग गरेका छन् ।

नरैनापुर–४, खोदवामा उपभोक्ता समितिले बोलाएको भेलामा सहभागी अधिकांश उपभोक्ताले समितिप्रति आक्रोश पोखेका थिए । आफूहरूले रकम तिरेर पनि काठ नपाएपछि बढी रकम तिर्दा पनि काठ कम पाएको र बाँकी पैसा फिर्ता नगरिएको गुनासो उनीहरूको छ । उनीहरूले आर्थिक हिनामिनासमेत भएको आरोप लगाए ।

उपभोक्ता समितिका सदस्य कमलेश पाठकले समितिले बैठक र भेला नगरी घरमा माइन्युट पठाएर हस्ताक्षर गराई निर्णय गर्ने गरेको आरोप लगाए । तिरेको रकमको काठ दिन आनाकानी गरिरहेको र मिलेमतोमा अवैध वन फँडानीसमेत भएको आरोप लगाए ।

उपभोक्ता भिख्खु यादवले समितिका अध्यक्ष र पदाधिकारी मिलेर आर्थिक अनियमितता गरेको र उपभोक्तालाई काठ नदिएको र वनको हेरचाहमा बेवास्ता गरिरहेको बताए । भेलामा सहभागी अधिकांशले उपभोक्तालाई अति आवश्यक परेको बेला पनि काठ नदिने तर आफ्ना नजिककालाई भने जति बेला पनि दिने गरिएको आरोप लगाएका थिए ।

आर्थिक हिनामिना भएको आरोप लगाइएपछि उपभोक्ता समितिका सचिव अभिमन्यू सिंहले हिसाब देखाउँदै १३ लाख रुपैयाँ बैङ्कमा जम्मा रहेको र १० हजार क्युफिटमध्ये तीन हजार ७०० क्युफिट उपभोक्ताका लागि र सात हजारभन्दा बढी क्युफिट काठ बाहिर बिक्रीका लागि राखिएको बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतवार ०८:३९