सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य

आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’को जोखिममा बालबालिका

धेरैलाई थाहा नहुन सक्छ, तर पाँच वर्षमुनिका बालबालिकालाई आँखाको क्यान्सर हुन्छ, त्यसलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा भनिन्छ ।

काठमाडौं । बालबालिकाको आँखाको नानीको कालो भागमा सेतो टीका देखिएको छ वा आँखा रातो भइरहन्छ र औषधि गर्दा पनि निको हुँदैन भने यस्तो अवस्थालाई सामान्य रुपमा नहेर्न चिकित्सको सुझाव छ ।

यस्तो समस्या क्यान्सरको कारणले पनि हुन सक्ने चिकित्सक बताउँछन् । धेरैलाई थाहा नहुन सक्छ, तर पाँच वर्षमुनिका बालबालिकालाई आँखाको क्यान्सर हुन्छ, त्यसलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा भनिन्छ ।

समयमै उपचार गरिएन भने आँखाको क्यान्सर अन्य भागमा फैलिएर ज्यानै समेत जान सक्ने तिलगंगा आँखा अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा.पूर्णिमा राजकर्णिकार बताउँछिन् ।

‘रोगको पहिचान गर्न ढिलो भएमा आँखामा फैलिएर अन्धोपन समेत ल्याउन सक्छ भने शरीरको अन्य भागमा फैलिए ज्यानसमेत जान सक्छ,’ उनी भन्छिन्, ‘त्यसैले आमाबुबाले बालबालिकाको आँखामा समस्या भए नभएको बारेमा चनाखो हुनुपर्छ ।’

बिरामी समयमै अस्पताल आएमा धेरैलाई नेपालमामै बचाउन सकिने डा.राजकर्णिकारको तर्क छ । ‘आँखाको उपचार नेपालमानै सम्भव छ तर रोगको बारेमा चनचेतना नहुँदा र समस्यालाई हेलचेक्राइ गरेर ढिला गरी बिरामी अस्पताल पुग्नुहुन्छ,’ उनले भनिन् ।

रेटिनोब्लास्टोमा क्यान्सर के हो ?

चिकित्सकका अनुसार रेटिनोब्लास्टोमा बालबालिकाको आँखाको भित्रिभागमा पलाउने क्यान्सर हो । डा.राजकर्णिकारका अनुसार पाँच वर्षमूनिका बालबालिकाको एक वा दुवै आँखाको भित्री भागको पर्दा रेटिनाबाट पलाउने क्यान्सर रेटिनोब्लास्टोमा भनिन्छ ।

यो क्यान्सर १५ हजार नवजात शिशुमध्ये एक जनामा देखापर्ने गर्दछ । आँखाकै क्यान्सरका कारण नेपाल लगायत विकासोन्मुख देशहरूमा यस रोगबाट ५० प्रतिशतको मृत्यु हुने गर्छ । विकसित देशहरू भने पाँच प्रतिशतभन्दा कमको मृत्यु हुने अध्ययनहरूले देखाएको छ ।

लक्षण

डा.कर्णिकारअनुसार आँखाको रेटिनोब्लास्टोमा क्यान्सर भएमा आँखाको नानीको कालो भागमा सेतो टिका देखिने, आँखामा डेडोपन हुने जस्ता लक्षणहरु देखिने गर्दछ । त्यस्तै आँखा असामान्य रूपमा रातो देखिने दुख्ने, आँखाको आकार ठूलो हुँदै जाने, आँखा बाहिरतिर आउने राजकर्णिकार बताउँछिन् ।

कस्ता बच्चालाई लाग्छ रेटिनोब्लास्टोमा

रेटिनोब्लास्टोमा पाँच वर्ष मुनिका कुनै पनि बालबालिकामा देखिन सक्छ । यस्तै, रेटिनोब्लास्टोमा रोग बंशाणुगत समस्या हो । यस्तो रोग लागेर निको भएका आमाबाबुबाट जन्मिएका छोराछोरीमा यो रोग लाग्ने गर्छ ।

रेटिनोब्लास्टोमा पहिलो सन्तामामा छ भने अर्को बच्चामा हुने सम्भावना ६ प्रतिशतले बढी हुन्छ । त्यसैले पाँच वर्ष मुनिका बालबालिकाको आँखा यस्तो लक्षण देखिएका परीक्षणका लागि तुरुन्त अस्पताल अस्पताल पुर्याउनुपर्छ ।

रेटिनोब्लास्टोमा रोग कसरी पत्ता लगाउन सकिन्छ ?

आँखारोग विशेषज्ञद्वारा बच्चालाई बेहोश गरि आँखाका पर्दाको जाँच गरेर आँखाको अल्ट्रासाउण्ड, आँखा तथा मस्तिस्कको सिटी स्क्यान, एमआरआईबाट यो रोग पत्ता लगाउन सकिने डा.राजकर्णिकार बताउँछिन् ।

रेटिनोब्लास्टोमाको उपचार

आँखामा आउने ट्युमरलाई पनि विभिन्न पद्धतिबाट उपचार गरिन्छ । यस्तै, ट्युमरको आकार, किसिम, फैलावटको आधारमा उपचार गरिन्छ । एउटा आँखा वा दुवै आँखा ट्युमर भए नभएको कुराले पनि उपचार पद्धतिमा भर पर्ने डा.राजकर्णिकार भनाइ छ ।

केमोथेरापी

केमोथेरापी क्यान्सर रोगको विरुद्ध दिइने औषधिहरु नशाबाट दिएर उपचार गरिन्छ । साथै यी औषधिहरु कहिले काही सिधै आँखामा पनि लगाइन्छ ।

थरमोथेरापी

थरमोथेरापी बिधि भन्नाले लेजरद्वारा अत्याधिक तातो प्रयोग गरि क्यान्सर भएको तन्तुलाई नष्ट गरिन्छ ।

क्रायोथेरापी

क्रायोथेरापी भनेको अत्याधिक चिसो तापक्रमको प्रयोग गरि क्यान्सर भएको तन्तुलाई नष्ट गर्ने विधि हो ।

रेडियोथेरापी

उच्च मात्रामा एक्स रे विकिरण प्रयोग गरि क्यान्सर तन्तु नष्ट गर्ने पद्दतिलाई रेडियोथेरापी भनिन्छ । जटिल अवस्थामा पुगेका बिरामीहरुलाई रेडियोथेरापी दिइन्छ ।

शल्यक्रिया

जटिल अवस्थामा पुगेका बिरामीहरुलाई माथि उल्लेखित उपचार पद्दतिद्धारा रोग निको पार्न सम्भव नभएमा आँखाको डल्लो निकाली गर्नुपर्ने उपचारलाई शल्यक्रिया भनिन्छ ।

तिलगंगा अस्पतालमा उपचार सम्भव छ

यो रोगको उपचार तिलगंगा आँखा प्रतिष्ठानमा हुने गर्छ । राजकर्णिकार अनुसार अस्पतालले १७ वर्ष अघिदेखि आँखाको क्यान्सरको उपचार सुरु गरेको हो । अहिले क्यान्सर रोगको विभाग नै स्थापना गरी उपचार सुरु गरिएको पाँच वर्ष पुगेको डा.राजकर्णिकारले बताइन् ।

नेपालमा यकिन तथ्यांक नभए पनि अस्पतालमा वार्षिकरूपमा ३०० जना आँखाको क्यान्सरका बिरामी उपचारका लागि आउने गर्छन् । यस्तै, आँखाका नयाँ क्यान्सरका बिरामी ५० जना उपचारका लागि पुग्ने उनले जानकारी दिइन् ।

अस्पतालमा सबै सेवा उपलब्ध नभएकोले रेटिनोब्लास्टोमा भएका बिरामीलाई केमोथेरापिका लागि कान्ति बाल अस्पतालमा पठाउने डा.राजकर्णिकार जानकारी दिइन् । यस्तै, रेडियोथेरापीका लागि भक्तपुर क्यान्सर अस्पतालमा पठाइने उनले बताइन् । सययमै रोगको पहिचान गरेर उपचार गरेमा रोग निको हुन डा.राजकर्णिकार बताउँछिन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतवार ०७:५८