सूचनाको शक्ति - The Power Of Information

        

पर्यटन समृद्धि

भारतीय पर्यटकको रोजाइँमा नेपालगन्जका पर्यटकीय गन्तव्य

बाँके । भारतीय सिमानासँग जोडिएको र पश्चिम नेपालको प्रमुख केन्द्र बनेको बाँकेमा रहेका विभिन्न पर्यटकीय गन्तव्यले नेपाली र भारतीय पर्यटकलाई आकर्षित गरिरहेका छन् । कोरोना सङ्क्रमण घट्दै गएपछि नेपाली र भारतीय पर्यटक आउने क्रम बढेकाले यहाँको पर्यटन व्यवसाय उकालो लाग्न थालेको व्यवसायीले नै बताएका छन् ।

पर्यटन व्यवसायीका अनुसार पाटेबाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीय गन्तव्यका रूपमा रहेको शक्तिपीठ माता बागेश्वरीको मन्दिर, भुवर भवानी देवीको मन्दिर, नरैनापुरको शिव मन्दिर यहाँका मुख्य गन्तव्य हुन् । अहिले मेरो प्लानेट, ह्याप्पी वल्र्ड र वन्डरल्यान्ड जस्ता आधुनिक वाटरपार्कहरू निर्माण भएकाले पर्यटकलाई तानिरहेको छ ।

कान्तिताल र ढकेरी, अगैया तथा गाभरले पनि ठूलो सङ्ख्यामा पर्यटक आकर्षित गरिरहेका छन् । कोरोना महामारी घट्दै जाँदा अहिले बाँकेका विभिन्न पर्यटकीय गन्तव्यमा भारतीय पर्यटक सबैभन्दा बढी आउन थालेको बाँकेका पर्यटन व्यवसायी श्रीराम सिग्देलले बताए । उनले भारतबाट आउने अधिकांश पर्यटक व्यावसायिक रूपमा सञ्चालन भएका वाटरपार्कमा रमाउनुका साथै धार्मिक गन्तव्यमा जाने र क्यासिनोमा समेत रमाउने गरेको बताए ।

पछिल्लो समय सुरु भएको नेपालगन्ज–पोखरा हवाइ उडान, नेपालगन्ज–लखनउ सिधा बस सेवा, नेपालगन्ज–बर्दिया निकुञ्ज पर्यटक बस सेवा र कर्णालीका विभिन्न जिल्लामा बढेको हवाई उडान एवं सडक विस्तारले पनि भारतीय तथा स्वदेशी पर्यटक बाँकेबाटै जाने हुँदा होटल व्यवसाय पुनः फस्टाएको होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले बताए ।

उनले बाँके बर्दियालगायत कर्णालीमा रहेका विभिन्न पर्यटकीय गन्तव्यहरूको अझै राम्ररी प्रचारप्रसार हुन नसकेको जनाउँदै भारतमा मात्रै राम्ररी प्रचार गर्न सकिए जिल्लाको समृद्धि र विकासमा पर्यटन व्यवसाय मुख्य आधार बन्ने बताए । नेपालगन्ज विमानस्थलको स्तरोन्नति गरेर नेपालगन्ज–लखनउ, नेपालगन्ज–दिल्ली हवाई उडान गर्न सके झन् यो क्षेत्रले पर्यटनको विकासमा ठूलो फड्को मार्ने नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल बाहिद मन्सुरीले बताए ।

‘नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने हो भने बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा, खप्तड, रारा र से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज तथा यस क्षेत्रका अन्य पर्यटकीयस्थलका लागि बाँके पर्यटनद्वार बन्छ,’ उनले भने । पछिल्लो समयमा स्वदेशी र भारतीय पर्यटकको आगमन बाँकेमा वृद्धि हुँदै जाँदा यहाँका होटल, होमस्टे र व्यापारिक मलहरू फेरि भरिभराउ हुन थालेको पर्यटन प्रर्वद्धन मञ्च बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार १४:४९