सूचनाको शक्ति - The Power Of Information

        

विकास/समृद्धि

एक महिनाभित्र तयार हुँदै हजार बेडको ‘होल्डिङ सेन्टर’

बाँकेको नेपालगन्ज–१४, भवानीयापुरमा बनेको होल्डिङ सेन्टर

बाँके । कोरोना संक्रमणका बेला बेड अभाव हुन नदिन बाँकेमा १ हजार क्षमताको होल्डिङ सेन्टर निर्माण भइरहेको छ । महामारीका बेला भारतबाट आएका र जिल्लामा एकैपटक ठूलो संख्यालाई कोरोना पुष्टि भएमा राख्न होल्डिङ सेन्टर निर्माण भइरहेको हो ।

होल्डिङ सेन्टरमा ३०० बेड तयार गरिएको छ । अहिले नेपालगन्ज–१४, भवानीयापुरमा २९ करोड ३८ लाख रुपैयाँ खर्च गरेर यसको निर्माण भइरहेको हो । अहिले ३०० बेड सञ्चालनमा आएको र एक महिनाभित्र हजार बेड तयार हुनेछ ।

‘यो महिनाभित्र हजार बेड नै तयार हुने र चैतमा सम्पूर्ण फिनिसिङ गरेर हस्तान्तरण गर्ने तयारी छ,’ बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, ‘कोरोनाका बिरामी राख्नु पर्ने भएमा अहिले पनि १ हजार जना व्यवस्थापन गर्न सकिन्छ ।’

कोरोनाका बिरामीलाई लक्षित गरेर बनाइएको होल्डिङ सेन्टरमा अन्य विपद्मा परेका व्यक्तिलाई राख्न सकिने प्रमुख जिल्ला अधिकारी खत्रीले सुनाए । उनका अनुसार होल्डिङ सेन्टरमा नाकामा संक्रमण पुष्टि भएकालाई राखिनेछ ।

‘अहिले कोरोनाका बिरामी बस्छन् । यो होल्डिङ सेन्टरलाई अन्य विपद्को अवस्थामा पनि प्रयोगमा ल्याउँछौं,’ प्रजिअ खत्रीले थपे, ‘भूकम्प, बाढीपीडित विपतमा परेकालाई पनि राख्न सकिन्छ ।’

नेपालगन्जमा अहिले बाल मन्दिरमा रहेको आइसोलेसन सेन्टरमा कोरोना संक्रमितलाई राख्ने गरिएको छ । भारतबाट आएका संक्रमितलाई बाल मन्दिरको आइसोलेसनमा राख्ने र सम्बन्धित पालिकासँग समन्वय गरेर पठाउने गरिएको छ ।

नाकाबाट आउने र सम्बन्धित पालिकामा जाने निरन्तर चलिरहेको छ । बाँकेमा अहिले परीक्षण गरिएका मध्येमा ७० प्रतिशत बढीलाई कोरोना पुष्टि हुने गरेको छ । कोरोना पुष्टि भएकाहरूमा लक्षण देखिएको छैन । प्रायःजसो होम आइसोलेसनमा बसेका छन् ।

भारतबाट आएका तीन दर्जनलाई दैनिक कोरोना पुष्टि हुने गरेको छ । २०७८ साउनमा सम्झौता भएको होल्डिङ सेन्टर गत असोज २४ गते सम्पन्न गर्नुपर्थ्यो । यो अवधिमा काम नसकिएपछि पुस मसान्तसम्मका लागि म्याद थप गरिएको थियो ।

तर थपिएको समयमा पनि होल्डिङ सेन्टर तयार हुन सकेको छैन । हनुमान निर्माण कम्पनी ललितपुरले ठेक्का लिएर काम सुरु गरेको हो । ‘बर्खाले दुई महिना काम रोकियो,’ ठेकेदार कम्पनिका डाइरेक्टर रुजन थापाले भने, ‘अहिले ८५ प्रतिशत काम पूरा गरेका छौं ।’

कम्पनीले अहिलेसम्म ४० प्रतिशत रकम भुक्तानी पाएको छ । सरकारले नेपाली सेनामार्फत ठेकेदारबाट होल्डिङ सेन्टरको काम गराइरहेको छ । नेपाली सेनाले पनि पटक–पटक अनुगमन निरीक्षण गर्दै छिटो काम सक्न ठेकेदार कम्पनीलाई दबाब दिइरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार १४:००