सूचनाको शक्ति - The Power Of Information

        

समाचार

कलिलैमा प्रेम, बिहे नहुँदै आमा

सानै उमेरमा गर्भवती हुँदा किशोरीहरुको ज्यान जोखिममा

बाँके । राप्तीसोनारी गाउँपालिका–६ की १७ वर्षीया किशोरी र किशोरबीच मायाप्रेम बस्यो । उनीहरूले भागी विवाह गर्ने निर्णय गरे । प्रहरीमा उजुरी परेपछि खोजतलास गर्दा उनीहरू भेटिए । दुवै पक्षबीच छलफल भयो । २० वर्ष नपुेगकाले विवाह रोकियो । किशोरकिशोरीलाई अभिभावकको जिम्मा लगाइयो ।

अहिले किशोरी तीन महिनाकी गर्भवती भएकाले समस्या बल्झिएको छ । राप्तीसोनारी–६ कै एक १८ वर्षीया किशोरीले बच्चा जन्माइसकेकी छन् । तर, विवाह भने भएको छैन । किशोरकिशोरीको उमेर नपुगेका कारण विवाह हुन नसकेको हो । तर, उनीहरूबीच शारीरिक सम्बन्ध हुने भएकाले विवाहअगाडि नै बच्चा जन्मिने गरेको छ ।

किशोरकिशोरी आ–आफ्नै घरमा बस्दै आएका छन् । राप्तीसोनारीमात्र होइन, बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, डुडुवा, नरैनापुर र जानकी गाउँपालिकामा बिहेवारी नगर्दै बच्चा जन्माउने गरेका घटना प्रशस्तै छन् । सरकारले २० वर्षमुनि उमेर समूहका किशोरकिशोरीलाई विवाह गर्न रोक लगाएको छ ।

तर, कम उमेरमै किशोरीहरूले बच्चा जन्माउने र २० वर्ष पुगेपछि बिहे गर्ने भन्दै घरजम गरेर बसेका छन् । जसका कारण स्थानीय तहमा बालविवाहको अभिलेख कम देखिने गरेको छ । प्रहरीमा छलफल गर्दा उमेर पुगेपछि मात्रै विवाह गर्ने सर्तको कागज गराएर दुवैलाई अभिभावकको जिम्मा लगाइने गरिएको छ ।

‘कम उमेरमै माया–प्रेममा फस्ने र घरबाट भाग्ने गरिएका घटना थुप्रै छन् । प्रहरीमा छलफल हुँदा अभिभावकको जिम्मा लगाइन्छ । तर, उनीहरूबीच सम्बन्ध कायमै रहेका कारण बिहेअगावै बच्चा जन्माउने घटना परम्पराजस्तै बनिसकेको छ,’ राप्तीसोनारीका अगुवा हेमन्त चौधरीले भने, ‘यो समस्या समाजमा विकराल बनिसकेको छ ।’

सरकारले २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने कानुन ल्याएको छ । बालविवाह गर्न लगाउने अभिभावकलाई पनि कारबाही हुने व्यवस्था छ । तर, किशोरकिशोरी आफैंले बालविवाह गर्न थालेपछि समस्या भएको हो । कतिपयले कानुनी कारबाहीबाट जोगिन जन्मदर्ता मिति बढाउने गरेका छन् ।

बालविवाह नियन्त्रणका लागि नेपालमा साढे पाँच दशकअघि कानुन आएको हो । नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षणले बालविवाहको अवस्था भयावह देखाएको छ । सार्वजनिक गरिएको प्रतिवेदन अनुसार बालविवाह गर्नेमध्ये १० प्रतिशतको हाराहारीमा १५ वर्ष नपुग्दै विवाह हुने गरेको देखिएको छ ।

प्रतिवेदन अनुसार बालविवाहका लागि नेपाल एसियामा तेस्रो स्थानमा पर्छ । बालविवाह, बालश्रम, कमजोर स्वास्थ्य अवस्था, शिक्षामा पहुँच जस्ता कुरामा पाकिस्तान र आफगानिस्तानभन्दा नेपालमा सुधार छ । जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले कम उमेरमा बिहे गरेका घटना दैनिक आउने गरेको बताए ।

‘१५/१७ वर्षका किशोरकिशोरी बिहेका लागि भागेका घटना पनि आउँछन् । हामीले उनीहरूलाई अभिभावकको जिम्मा लगाइदिन्छौं,’ उनले भने, ‘पहिले अभिभावकले बिहे गरिदिन्थे । अहिले भागेर बिहे गर्ने र कम उमेरमै बच्चा जन्माउने घटना बढिरहेका छन् ।’ उमेर नपुगेर बिहे गर्नु हुँदैन भन्ने कुरा सबैजसोलाई थाहा छ ।

तर, पढ्दै गरेका किशोरकिशोरीले जानाजान बालविवाह गर्न थालेको बालविवाहविरुद्ध अभियानमा लागेका नगरस्तरीय बाल क्लब सञ्जालका पूर्वअध्यक्ष साहिल अन्सारीले बताए । ‘कानुनलाई चुनौती दिंदै बालविवाह गर्नेको संख्या बढेको छ,’ उनले भने, ‘सानै उमेरमा विवाह गरेका किशोरीहरू गर्भवती हुँदा ज्यान नै जोखिममा पर्ने सम्भावना बढ्दो छ ।’

पोषकतत्त्व भएको खानेकुराको कमी, आराम र परिवारबाट पाउनुपर्ने माया नपाएका कारण आमा र कम तौल भएका शिशुको मृत्यु हुने गरेको छ । बालविवाहका कारण मातृ र नवजात शिशु मृत्यु घट्न सकेको छैन । जसका कारण सानो उमेरमा गर्भवती हुने किशोरी, शिशु र मातृ मृत्यु दर घटाउन समस्या भएको हो ।

कम उमेरका आमाहरूमा बढीजसो हेमोग्लोविनको समस्या देखिने गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाकी महिला विकास अधिकृत शोभा शाहले कम उमेरमै बिहेवारी गर्ने घटनाहरू आउने गरेको बताइन् । ‘सानो उमेरमै बिहे गर्नेलाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाउँछौं,’ उनले भनिन् ।

उनका अनुसार अहिले सानै उमेरमा बिहे गर्न घरबाट भागेका घटना धेरै आउन थालेका छन् । बालविवाह गराउनेलाई १० हजार रुपैयाँ जरिवानादेखि तीन वर्षसम्म कैद हुने कानुनी व्यवस्था हुँदा पनि नियन्त्रणमा समस्या देखिएको छ । धार्मिक संस्कार र परम्परागत कारणले पनि बालविवाह नियन्त्रणमा आउन नसकेको सरोकारवाला व्यक्तिहरू बताउँछन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार १३:३३