सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन

निर्वाचन आयोगमा २९ दल दर्ता, लागु हुँदै आचारसंहिता

काठमाडौं । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचन प्रयोजनका लागि हालसम्म २९ वटा दल दर्ता भएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले थप १९ वटा राजनीतिक दलले आयोगमा निवेदन दिएको जानकारी दिए ।

यसअघि १० वटा राजनीतिक दलले निवेदन दिएका थिए । यसरी निर्वाचनमा भाग लिनका लागि दर्ता हुन निवेदन दिने दलहरुको सङ्ख्या २९ पुगेको हो । आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि फागुन ५ सूचना निकालेर फागुन १६ गतेभित्र दर्ता गरिसक्न आह्वान गरेको थियो ।

आयोगमा बहुजन एमता पार्टी नेपाल, वैज्ञानिक समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित १९ राजनीतिक दलहरुले दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् ।

त्यस्तै, आयोगले स्थानीय निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोड २९ लाख चार हजार रुपैयाँ बजेट माग गर्ने निर्णय गरेको पनि सहायक प्रवक्ता अर्यालले जानकारी दिए । यसैगरी, स्थानीय तह निर्वाचनका लागि आचारसंहितालाई अन्तिम चरणमा पुगेको उनले बताए ।

आचारसंहिता कानुन मन्त्रालयमा पठाएपछि राजपत्रमा प्रकाशन भएपछि सार्वजनिक हुनेसमेत उनी बताउँछन् । साथै आचारसंहिताका केही प्राविधिक कुरा मिलाउनुपर्ने भएकोले छलफलमा पनि रहेको उनको भनाइ छ । ‘कानुनी व्यवस्था अनुसार आचारसंहिता आयोगले तोकेको मितिदेखि लागू हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार आयोग चाँडै आचारसंहिता लागू गर्नेछ,’ उनले भने ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार ०८:१०