सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

एमसिसी प्रक्रियामा अघि बढ्नै लाग्दा संसद् स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठक सरकारले अचानक स्थगित गरेपछि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्को प्रक्रियाबाट अघि बढ्न सकेन ।

सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले टेबुल गर्नुपर्ने एमसिसी उनी अनुपस्थित भएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको बैठकमा टेबुल गरेका थिए । एमसिसीमाथि सर्वप्रथम सैद्धान्तिक छलफल गर्ने तयारी थियो ।

सरकारले सम्भव भए बिहीबार नै एमसिसी पारित गर्ने नभए छलफल गराउने तयारी गरेको थियो । संसद् बैठक बस्नै लाग्दा परिस्थति एकाएक परिवर्तन भई संसद् बैठक नै स्थगित हुन पुगेको थियो । दिउँसो १ बजे बोलाइएको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए ।

एमसीसीलाई अघि बढाउने विषयमा सहमति भएपछि संसद्को बैठक निर्धारित समयभन्दा आधा घन्टापछि बस्न लागेको थियो । संसद्को बैठक बस्ने घण्टी बज्नै लाग्दा संसदको बैठक अचानक सूचना जारी गरेर विशेष कारणवश भन्दै स्थगित गरिएको थियो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकको सहमतिपछि सभामुख सापकोटाले एमसिसीमाथि सैद्धान्तिक छलफल गर्ने र बोल्न चाहने सांसदलाई ५/५ मिनेटको समय दिने तयारी गरेका थिए ।

सभामुखले बैठक बस्न तयारी गरिरहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर कानुनमन्त्री दिलेन्द्र बडू र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सभामुखसमक्ष पुगेका थिए । त्यसपछि बैठक स्थगित भएको सूचना जारी गर्दै १३ शुक्रबार १ बजेका लागि बैठक बोलाइएको थियो ।

सैद्धान्तिक छलफलमा भाग लिने सांसदमध्ये सत्तापक्षकै सांसदले एमसिसीको विपक्षमा उभिने भएपछि प्रधानमन्त्री देउवाले एमसिसीमा सैद्धान्तिक छलफल मन नलगाईनलगाई गराउन खोजेका थिए तर एमसिसीमा एमालेले सहयोग गर्छु भन्ने भरपर्दो आश्वासन अन्तिम समयमा दिएकै कारण प्रधानमन्त्री देउवाले संसद् स्थगित गराएर एमालेलाई साथ लिन खोजका छन्,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार अब पाँच दलीय गठबन्धन टुटाएर भए पनि कांग्रेस र एमालेले भारी मतले एमसिसीको पक्षमा मतदान गराउने तयारीमा देउवा लागेका छन् । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सक्रियताले संसद्लाई विघटन गराउन सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ ।

संसद् बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवाले संसद् भवन नयाँ बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै कार्यकक्षमा साढे दुई घन्टा छलफल गरे । त्यसपछि ओलीसँग माओवादी अध्यक्ष पुष्पकमल दाहालले भेट गरेका छन् भने पुनः प्रधानमन्त्री देउवा र ओलीबीच बालुवाटारमा छलफल भएको थियो ।

यता संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले पर्वतमा पुगेर एमसिसी कुनै पनि हालतमा पारित गर्न नदिने बताएका थिए । उनको यो भनाइले नै पाँचदलीय गठबन्धनभित्र खटपट सुरु भएको देखिएको थियो ।

एमालेसँगको बिहीबारको छलफलमा शक्ति बाँडफाँटमा कुरा नमिलेका कारण नै तत्काल गठबन्धन टुटाइएको छैन । कुरा मिल्नासाथ गठबन्धन टुट्छ एक एमाले नेताले भने । एमालेसँग शक्ति बाँडफाँटमा कुरा नमिले संसद् विघटन हुन्छ या ३५ जनाले मात्र एमसिसी अनुमोदन गर्ने अवस्था आउँछ यसै भन्न नसकिएको स्रोतले बतायो । (नागरिक दैनिक)

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार ०७:५१