सूचनाको शक्ति - The Power Of Information

        

अपराध

छोराछोरी धरौटीमा राखेर लागूपदार्थ ओसारपसार गर्दै आमा

बाँके । सीमा क्षेत्रमा चरेस र अफिम ओसारपसारमा पक्राउ पर्नेमध्ये महिलाको संख्या बढ्दो छ । विपन्न महिलालाई नेपाल–भारत दुवैतर्फका लागूऔषध कारोबारीले भरियाको रुपमा प्रयोग गर्न थालेपछि पक्राउ पर्नेको संख्या बढेको प्रहरीको अनुसन्धानले देखाएको हो ।

प्रहरीका अनुसार छोराछोरी धरौटीमा राख्न लगाएर आमालाई लागूपदार्थ ढुवानीमा भरियाका रूपमा प्रयोग गर्दै आएको पनि पाइएको छ । ‘भारतीय व्यापारीसँग मिलेर भरिया बनाए । छोराछोरीको पालनपोषण पनि गरिदिन्छौं भने,’ पक्राउ परेकी रोल्पाकी एक महिलाले भनिन्, ‘पठाउने मान्छे रोल्पाको हो ।’

भारतीय तस्करसँग मिलेका व्यापारीले आफूलाई चरेस र अफिम ओसारपसारको भरिया बनाउँदा छोराछोरीलाई अप्रत्यक्ष निगरानीमा राखेको उनले बताइन् । ‘जेलमा बस्दा पनि छोराछोरीलाई केही गर्ने हुन् कि भन्ने डरैडर भयो,’ उनले भनिन् । भरिया बन्न बाध्य भएका महिला सन्तानप्रतिको मायाले लागूपदार्थ कारोबारीले अह्राएको जोखिमयुक्त काम गर्न बाध्य छन् ।

‘पक्राउ पर्ने महिलाले कारोबारीको पहिचान लुकाउनुको कारण पनि त्यही हो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘बच्चा धरौटीमा राख्दा आपूर्तिकर्ता सुरक्षित हुन्छन् । पक्राउ पर्ने महिलाले सन्तानको मायाले आपूर्तिकर्तालाई चिनेको भए पनि भन्न चाहँदैनन् ।’ कतिपय कारोबारीले भारतीय प्रहरीलाई सूचना दिएर आफैंले पठाएको भरिया पक्राउ गर्नसमेत लगाउने गरेका छन् ।

मिलेमतोमा यसो गर्दा भरियालाई सर्तबमोजिमको पैसा दिनु नपर्ने र लागूऔषध पनि थोरै लगानीमा भारतीय बजारसम्म पुर्याउन सकिने भएकाले नाइकेले दोहोरो जालझेल गरेको पनि पाइएको ती प्रहरी अधिकृतले बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चरेस तथा अफिम बोकाएर सीमापार गर्न तयार हुनेमा सुर्खेत, रोल्पा, रुकुम, दाङ र जाजरकोटका महिला धेरै छन् ।

पक्राउ पर्नेमा २० देखि ६० वर्ष उमेर समूहका छन् । नेपालगन्ज कारागार शाखा प्रमुख रामकुमार सोनकरका अनुसार लागूऔषध मुद्दामा जेल परेका महिला थुप्रै छन् । धेरै भएपछि उनीहरूलाई राख्न ठाउँ नपुगेकाले ३० जना महिलालाई अन्य जिल्लामा पठाइएको छ । १५४ जना पुरुष नेपालगन्ज जेलमा छन् । जेलमा भएकामध्ये एक जनाबाहेक सबै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली जिल्लाका हुन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १७:१३