सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

नेकपा एसका मन्त्री एमसीसीको पक्षमा, मागियो राजिनामा

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरू एमसीसीको पक्षमा उभिँदा नेताहरू भने विपक्षमा देखिएका छन् ।

नेकपा एसबाट सरकारमा सहभागी भएका मन्त्रीहरू एमसीसी सदनबाट अनुमोदन गराउनु पर्ने पक्षमा छन् । शीर्ष नेताहरू एमसीसीको विपक्षमा उभिँदै कार्यकर्तालाई सडकमा उतारेका छन् ।

नेकपा एसबाट सरकारमा सहभागी मन्त्रीहरू किसान श्रेष्ठ, रामकुमारी झाँक्री र प्रेमबहादुर आले एमसीसीको पक्षमा छन् । तर, शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमसीसीको विपक्षमा छन् ।

अध्यक्ष माधवकुमार नेपाल पक्ष वा विपक्षमा स्पष्ट रुपमा खुलेका छैनन् । तर, पार्टीको निर्देशनमा नेकपा एसनिकट भ्रातृ संगठनका नेता कार्यकर्तामा एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् ।

यसैबीच, आफ्नै पार्टीका मन्त्रीहरु एमसीसीको पक्षमा देखिएपछि आफ्नै पार्टीका कार्यकर्ताले राजीनामा मागेका छन् । पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै तीन जना मन्त्रीको पदबाट राजीनामा दिनपर्ने उनका कार्यकर्ताले माग गरेका हुन् ।

काठमाडौंमा बुधबार सम्पन्न एकीकृत समाजवादीनिकट विभिन्न २२ वटा संगठनहरूको संयुक्त बैठकमा बोलेका अधिकांशले मन्त्रीबाट श्रेष्ठ, झाँक्री र आलेले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, शम्भु श्रेष्ठ, नरेश शाहीसहितले पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा उभिएका श्रेष्ठ, झाँक्री र आलेले तत्काल मन्त्री पदबबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १६:२७