सूचनाको शक्ति - The Power Of Information

        

तीन किलो चरेससहित जमुनाहामा तीन जना पक्राउ

बाँके । बाँकेमा तीन किलो चरेससहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिम्ता गाउँपालिका–४ सुर्खेतका ४० बर्षिय वीरेन्द्र हमाल, सोही ठाउँकी ३८ बर्षिया दीपा बुढा र शिवालय गाउँपालिका–२ जाजरकोटकी २३ बर्षिया खिमा खत्री छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय, जमुनाहा र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरुलाई जमुनाहा नाकाबाट पक्राउ गरेको हो । दुई महिलाले बोकेको झोलामा कालो प्लास्टिकले बेरेर चरेस राखिएको फेला परेको थियो ।

चरेस बोकेर भारततर्फ गइरहेका बेला शंका लागेर चेकजाँच गर्ने क्रममा दुई जना महिलाले बोकेको झोलामा कालो पोलेथिनभित्र बेरेर लुकाईछिपाई राखेको अवस्थामा चरेस फेला परेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

इन्चार्ज एवं प्रहरी नायव निरिक्षक मिनबहादुर बिष्टका अनुसार पक्राउ परेका वीरेन्द्र हमालले महिलालाई चरेस बोक्न लगाएर भारतमा बिक्री गर्न लैजान लागेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

बिष्टका अनुसार महिलाले बोकेको झोलाभित्र कालो पोलेथिनमा बेरेर राखिएको अवस्थामा चरेस फेला परेको थियो । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन हुने चरेस नेपालगन्ज हुँदै भारत लैजाने गरिन्छ । प्रहरीका अनुसार लागूऔषध नियन्त्रण ऐन २०३३ को परिछेद १४ को उपदफा १ को ६(३) बमोजिम १५ वर्षदेखि जन्म कैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना रहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १६:११