सूचनाको शक्ति - The Power Of Information

        

खप्तडछान्नामा बन्यो अपाङ्गतामैत्री प्रशासकीय भवन

बझाङ । बझाङको खप्तडछान्ना गाउँपलिकाले अपाङ्गतामैत्री प्रशासकीय भवन निर्माण गरेको छ । खप्तडछान्ना गाउँपलिकाले करिब ५ करोड ३९ लाख ५४ हजार ५५९ रुपैयाँ लागतमा खप्तडछान्ना गाउँपालिकाको वडा नं. ४ पसल बगर नजिक प्रशासकीय भवन निर्माण गरिएको हो ।

भवन निर्माण भएपछि कामकाज र सेवा प्रवाह गर्न सजिलो हुने भएको छ । ०७७ साउनदेखि निर्माणको काम पाएको विकोइ विल्डस सुर्मा सरोवर जेवीले निर्माण अवधी ३६ महिना भए पनि १५ महिनाअघि नै भवन निर्माणको काम सकेपछि हस्तान्तरण तथा भवनको उद्घाटन समेत गरिएको छ ।

स्थानीय तहमा जनप्रतिनिधिहरु आइसकेपछि भाडाको घरबाट सेवा दिँदै आएको खप्तडछान्ना गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिने भएको हो । गाउँपलिका अध्यक्ष बर्कबहादुर रोकायाले गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै भवनबाट केहिदिनमै अपाङ्गतामैत्री प्रशासनीक भवनबाटै सेवा प्रवाह हुने भएकाले सेवाग्राहीलाई सहज हुने बताए ।

उक्त भवनका १३ वटा कोठा, १ सभाहल, र शौचालय रहेका छन् । उक्त भवनका लागि ५ रोपनी निशुल्क जग्गा दान गर्ने सिदराज रोकाया, जनक रोकाया र रमेश रोकाया लगायतका जग्गा दाताहरुलाई समेत दोसल्ला तथा सम्मान गरिएको थियो । सम्झौता अवधिभन्दा अगाडी भवन निर्माणको काम सम्पन्न गरेको भन्दै निर्माण व्यवसायी दलबहादुर विष्लाई समेत सम्मान गरिएको छ ।

भवन अपाङ्गतामैत्री भएकाले आफुजस्ता अपाङ्गता भएका साथीहरुलाई सेवा लिन जाँदा सहज हुने गंगा दशहरा अपाङ्गता समितीका अध्यक्ष गजेन्द्र रावलले बताए । कतिपय निर्माण व्यवसायी कामको जिम्मा लिएर समयमै भवन निर्माणको काम नसक्ने भए पनि आफुले अवधीभन्दा अगाडी नै भवन निर्माणको काम सकेको र कतिपय ठाउँबाट समयमै काम पुरा गर्ने भएकाले पुरस्कारसमेत पाउने गरेको निर्माण व्यवसायी दलबहादुर विष्टले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १३:३६