सूचनाको शक्ति - The Power Of Information

        

बानेश्वरमा आज पनि आन्दोलन

काठमाडौं । संसदमा आज एमसीसीबारे छलफल हुने भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनमोर्चालगायतका भ्रातृसंगठनले आन्दोलन गर्ने भएका छन् ।

राष्ट्रिय सहमतिमा मात्र एमसीसी पास गर्नुपर्ने भन्दै आएको माओवादी र समाजवादीका भातृ संगठनले आज पनि प्रदर्शन गर्ने भएका हुन् । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ ।

संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ । सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने छन् ।

फागुन ८ गते आइतबार एमसीसी सदनमा टेबल भएको थियो । यसैबीच गृह मन्त्रालयले प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवनको सुरक्षा थप बलियो बनाइएको छ ।

प्रतिनिधिसभा बैठकको समयमा संसद् भवन क्षेत्रलाई केन्द्रित गरी प्रदर्शन हुन सक्ने भन्दै धेरै सुरक्षाकर्मी परिचालन गरिएबको छ । प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई रोक्न प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

यसअघि एमसीसी प्रस्ताव टेबुल हुने भएपछि दिनभर नयाँ बानेश्वर र आसपासको क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १२:१९