सूचनाको शक्ति - The Power Of Information

        

जयपृथ्वी नगरपालिका साक्षर नगर घोषणा

बझाङ । बझाङको जयपृथ्वी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ ।

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएकाले साक्षर नगरपालिका घोषणा गर्ने मापदण्ड पूरा भई नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको हो । नगरपालिकाको ११ वटै वडालाइ समेटिएर बुधवार सम्पन्न विशेष समारोहकाबीच नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको हो ।

नगरपालिकाले संकलन गरेको तथ्याङ्क अनुसार जयपृथ्वी नगरपालिका भरी १५ बर्ष देखी ५९ बर्ष उमेर समुहको जम्मा जनसंख्या १४ हजार ८ सय ६८ रहेको छ ।

नगरपालिकाले २०७६ सालमा संकलन गरेको उक्त तथ्याङ्कमा १६ सय १५ जना निरक्षर व्यक्तिहरुको तथ्याङ्क संकलन गरिएको थियो । त्यहि तथ्याङ्कलाई आधार मानी नगरपालिकाले १८ जना साक्षरता सहजकर्ताहरु वडा तथा टोलहरुमा खटाएको थियो ।

सोहि अनुरुप २०७८ सालमा अनुगमन गर्दा १६ सय १५ जना निरक्षरहरुलाई विभिन्न कक्षा दिएर सामान्य लेखपढ गर्न र हिसाव किताब गर्न सक्ने भएपछी १५ सय ४० जना साक्षर भएको नगरपालिकाले जनाएको छ ।

साक्षर नगर घोषणा कार्यक्रममा बोल्दै शिक्षा समन्वय इकाइ बझाङका प्रमुख सुरेन्द्र बहादुर कठायतले जिल्लाका १२ स्थानियतहहरु मध्ये बझाङमा साक्षर घोषणा हुन तिन स्थानियतह मात्रै बाँकी रहेको बताउनुभयो ।

जसमा तलकोट गाउँपालिका, सुर्मा र दुर्गाथली गाउँपालिका रहेका छन् । उहाँले भन्नुभयो, ‘सरकारले साक्षर घोषणा गर्नका लागी तोकिएका मापदण्डहरु पुरा गरेर साक्षरता नगरपालिका घोषणा गरिएको हो ।’

नगरपालिकालाई साक्षर नगर घोषणा गर्दै जयपृथ्वी नगरपालिका उपप्रमुख जुना जाग्रीले नगरपालिका साक्षर नगर घोषणासँगै विकासका काममा तिब्र बन्दै गएको बताउनुभयो ।

उहाँले नगरपालिकामा जनप्रतिनिधि आएपछि विकासको गतिले फड्को मार्दै गएको भन्दै स्थानीय तहमा सेवाग्राहीको अपेक्षा पूरा गर्न जनप्रतिनिधि सधै क्रियाशिल रहेको समेत बताउनुभयो ।

गरपालिकाका प्रमुख विरेन्द्र बहादुर खड्काले नेपाल सरकारको अभियान पूरा गर्न नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको बताउनुभयो ।

प्रमुख खड्काले लामो समय देखीको प्रयास आज सफल भएको र अझै आगामी दिनमा पनि नगरपालिकालाई अन्य गतिविधि बाट माथि उठाउन आफु लागी पर्ने बताउनुभयो ।

उक्त साक्षरता कार्यक्रममा १८ जना सहजकर्ता र साँझेदार संस्था प्रगतिशिल युवासमाजलाई सम्मान स्वरुप कदर पत्र दिएर सम्मान गरिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार ११:३७