बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले यहाँका दलित बालबालिकालाई निःशुल्क विद्यालय पोशाक वितरण गरेको छ । विद्यालयमा बालबालिकाको पोशाक नहुँदा पहिचानमै समस्या देखिएको भन्दै गाउँपालिकाले यहाँ पाँच विद्यालयका दलित विद्यार्थीलाई निःशुल्क पोशाक वितरण गरेको जनाएको छ ।
यसअघि विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरेपछि पढ्न आउने बालबालिकाको संख्यामा बृद्धि भएको देखिएको छ । साइकल वितरण प्रभावकारी भएसँगै पालिकाले पाँच विद्यालयका १६७८ दलित बालबालिकालाई विद्यालय पोशाक वितरण गरेको गाउँपालिकाका निमित्त प्रमूख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए ।
पोशाक वितरणसँगै गाउँपालिकाले यहाँ सबै बालबालिकालाई क्रमशः अन्य आवश्यक सामग्री पनि वितरण गर्दै जाने योजना बनाएको उनले जानकारी दिए । गाउँपालिकाले नेपाल राष्ट्रिय आधारभूत विद्यालय जमुनी, जय किसान माध्यमिक विद्यालय गंगापुर, महेन्द्र माध्यमिक विद्यालय मटेहिया लगायतका विद्यालयमा विद्यालय पोशाक वितरण गरेको हो ।
विद्यालयको शैक्षिक अवस्था अनुगमन गर्दै नरैनापुर गाउँपालिकाका कार्यबाहक अध्यक्ष मसुद अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेत, शिक्षा शाखा प्रमुख कृष्णकुमार थारू, जिन्सी शाखा प्रमूख भरत महतो, लेखापाल प्रकाश अधिकारी लगायतको टोलीले पोशाक वितरण गरेको हो ।
साइकल तथा पोशाक वितरणले विद्यालयमा दलित तथा गैरदलित विद्यार्थीको सहभागीतामा बृद्धि भएको देखिएको गाउँपालिकाका कार्यबाहक अध्यक्ष मसुद अहमद शाहले बताए । कार्यबाहक अध्यक्ष शाहले भने, ‘साइकल र पोशाक वितरणपछि अझै बालबालिका विद्यालय आउने र नियमित पठनपाठन गर्नेको संख्यामा बृद्धि हुने अपेक्षा गरेका छौं ।’
विगतमा नाम लेखाए पनि विद्यालय पढ्न आउनेको संख्या कमी थियो,’ नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक अमरलाल यादवले भने, ‘गाउँपालिकाले साइकल दिएपछि विद्यालय आउने सबै तहका बालबालिकाको संख्या बढेको छ ।’ निःशुल्क विद्यालय पोशाक पाएपछि नरैनापुरका बालबालिका हर्षित बनेका छन् ।
‘सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका विद्यार्थीका लागि पोशाक वितरण गर्न थालिएको हो,’ निमित्त प्रमूख प्रशासकीय अधिकृत भरत बस्नेतले भने, ‘अभिभावकले पोशाक खरीद गर्न नसकेकै कारण विद्यार्थी विद्यालय जानबाट बञ्चित हुन नपरोस् भनेर पोशाक वितरण गरेका हौं ।’
मजदूरी गरेर छोराछोरीलाई विद्यालय पठाए पनि विद्यालय पोशाक किन्न नसक्ने अवस्थाका दलित समुदायका बालबालिकालाई लक्षित गरी पोशाक वितरण गरिएको र आगामी दिनमा गाउँपालिकाका सबै विद्यार्थी पोशक वितरण गर्ने गाउँपालिकाको लक्ष्य रहेको पनि निमित्त प्रमूख प्रशासकीय अधिकृत बस्नेतले बताए ।
साइकल वितरणको प्रभावकारीतासँगै यसअघि गाउँपालिकाले पालिकाभरीका सबै घरधुरीलाई ग्याँस सिलिण्डर वितरण गरेको छ । सिलिण्डर ग्याँस वितरण कार्य अहिले पनि चलिरहेको छ । गाउँपालिकाले पालिकाभरीका साढे १९ हजार घरधुरीलाई ग्याँस सिलिण्डर वितरण गरिएको गाउँपालिकाका कार्यबाहक अध्यक्ष शाहले बताए ।
।