बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी भरत बस्नेतले सम्हालेका छन् । यसअघि लेखा अधिकृतका रुपमा गाउँपालिका कार्यालयमा कार्यरत बस्नेतले बुधबारदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।
दुई कार्यकाल नरैनापुरमा रहेर जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीहरुबीच लोकप्रिय भएर काम गरेका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतको सरुवा भएसँगै सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी भरत बस्नेतलाई दिएको हो । प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।
स्थानीय तह गठनसँगै बाँकेकै कर्णाली भनेर चिनिने बिकट नरैनापुरमा प्रमूख प्रशासकीय अधिकृत भएर दुई कार्यकाल सेवा गरेका दलबहादुरको भव्य बिदाई गरिएको छ । लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी ‘नमूना’ले प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतलाई सम्मानसहित दोसल्ला तथा मायाको चिनो प्रदान गरेर विदाई गरेकी थिइन् ।
कार्यक्रममा गाउँपालिकाका कर्मचारीहरुले अविर, फूलमाला र खादा ओढाएर प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतको बिदाई गरेका थिए । कार्यक्रममा प्रदेश सांसद नमूनाले प्रमुख प्रशासकीय अधिकृत दलबहादुरको काम गर्ने शैलीको प्रशंसा गर्दै थुपै्र जटील कामहरु पनि सहजरुपमा सम्पन्न गरेको स्मरण गरेकी थिइन् ।
नरैनापुरमा विकास तिव्र गतीमा बढाउन अहम् भूमिका खेलेका प्रमूख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले समग्र विकास, काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउन सफल भएको पनि नमूनाले बताइन् । सांसद नमूनाले जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीबीच सहज वातावरणमा अहंम् भूमिका निर्माण गरेको स्मरण गरिन् ।
स्थानीय तहको निर्वाचनअघि बिकट रहेको नरैनापुर गाउँपालिकाको विकासमा जिल्लाका अन्य गाउँपालिकाको भन्दा महत्वपूर्ण एवं कुशल व्यवस्थापनमा दलबहादुरको योगदान रहेको पनि सांसद नमूनाले बताइन् । गाउँपालिकाका कार्यबाहक अध्यक्ष मसुद अहमद शाहले गाउँपालिकामा रहेर दलबहादुरले गरेको योगदान पालिकाले कहिल्यै नभुल्ने बताए ।
‘संक्रमणकालिन अवस्थामा समेत कुशल कर्मचारीको रुपमा उहाँले काम गर्नुभयो । स्थानीय तहमा भएका निर्णय कार्यान्वयनमा अहंम् भूमिका रह्यो । आगामी दिनमा पनि नरैनापुरको विकासका लागि केन्द्रमा बसेर पहल गर्नुहुनेछ,’ उनले स्मरण गर्दै भने । नयाँ प्रशासकीय अधिकृतले समेत पालिकाको विकासमा उल्लेख्य योगदान गर्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा शिक्षा शाखा अधिकृत कृष्णकुमार थारु, जिन्सी शाखा प्रमूख भरत महतो, लेखापाल प्रकाश अधिकारी, इन्जिनियर प्रविण श्रेष्ठ, सूचना प्रविधि अधिकृत सन्तोष हमाल, प्राविधिक सहायक कमल केसी लगायतका कर्मचारीहरुले अविर, फूलमाला र खादा ओढाएर प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतको बिदाई गरेका थिए ।
बिदाई कार्यक्रममा भावुक बनेका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले नरैनापुरमा दुई कार्यकाल सेवा गर्न पाएकोमा खुशी व्यक्त गर्दै विवादरहित ढंगले कार्य सम्पादन गर्न सहयोग गर्ने गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा आफू जहाँ भए पनि नरैनापुरको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
।