सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

बाँकेका ५१ विद्यालयलाई ११ करोड सहयोग

बाँके । बाँके जिल्लाका ५१ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको छनोटमा परेका छन् । छनोटमा परेका ती विद्यालयले ११ करोड रुपैयाँ सहयोग पाउने छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय बाँकेका अनुसार, जिल्लाबाट १४५ वटा विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि सिफारिस गरिएकोमा ५१ वटा विद्यालय छनोटमा परेको जनाएको छ ।

कार्यालयका प्रमुख रामसुरेश यादवका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका ८, नरैनापुर गाउँपालिकाका ४, कोहलपुर नगरपालिकाका ९, खजुरा गाउँपालिकाका ७, जानकी गाउँपालिकाका ३, डुडुवा गाउँपालिकाका ३, राप्तीसोनारी गाउँपालिकाका १० र बैजनाथ गाउँपालिकाका ६ वटा विद्यालय छनोटमा परेका हुन् ।

नेपालगन्ज उपमहानगरका २३, कोहलपुर नगरपालिकाका १, बैजनाथका २०, खजुराका २९, जानकीका ४, डुडुवाका ६, राप्तीसोनारीका ३४ र नरैनापुर गाउँपालिकाका १४ वटा विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ ।

शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ती ५१ विद्यालयलाई चार कोठे, दुई कोठे भवन तथा विद्यालयमा आइसीटी व्यवस्थापनका लागि ११ करोड रुपैयाँ बजेट उपलब्ध गराइने शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयका प्रमुख यादवले बताए ।

बाँकेका २३ वटा विद्यालयले चार कोठे भवनका लागि ३६ लाखका दरले, २० वटा विद्यालयले ६ लाख ५० हजारका दरले, सातवटा विद्यालयले १८ लाखका दरले, एउटा विद्यालयले ५२ लाख रुपैयाँ प्राप्त गर्ने राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको विवरणमा उल्लेख छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएपछि निकै खुसी व्यक्त गर्दै मदरसा दारुल उलुम बरकातिया माध्यमिक विद्यालयका प्रबन्धक जियाउल मुस्तफा नुरानीले यसबाट ठूलो सहयोग हुने बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार ०९:५४