सूचनाको शक्ति - The Power Of Information

        

च्याम्पियन्स लिगमा चेल्सी विजयी

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति इंग्ल्याण्डको चेल्सीले फ्रान्सको लिललाई २–० ले हराएको छ ।

लण्डनस्थित आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन काई हाभर्ट्ज र क्रिश्चियन पुलिसिकले एक एक गोल गरे ।

खेलको आठौं मिनेटमा हाभर्ट्जले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ६३ औं मिनेटमा पुलिसिकले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।

राउण्ड अफ सिक्सटिनको पहिलो लेगमा हात पारेको यो जितसँगै दोस्रो लेगको खेल पूर्व चेल्सी सहज अवस्थामा आएको छ भने पराजित टोली लिलमाथि दबाब बढेको छ । चेल्सी र लिलबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ ।

च्याम्पियन्स लिगकै अर्को खेलमा मंगलबार राति स्पेनको भिल्ला रियल र इटालीको युभेन्ट्सले एक एक गोलको बराबरी खेलेका छन् ।

स्पेनमा भएको खेलमा भ्रमणकारी टोली युभेन्ट्सका डुसान भ्लाहोभिचले पहिलो मिनेटमै गोल गरे । तर भिल्ला रियलका डानी पारेयाले ६६ औं मिनेटमा एक गोल फर्काएपछि खेल बराबरीमा टुंगिएको हो ।

अब यी दुई टोलीबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ । च्याम्पियन्स लिग फुटबलमा राउण्ड अफ सिक्सटिनका बाँकी दुई खेल आज राति हुनेछन् ।

आज स्पेनको एथ्लेटिको मड्रिडले इंग्ल्याण्डको म्यान्चेस्टर युनाइटेडसँग खेल्दा पोर्चुगलको बेनिफिका र नेदरल्याण्ड्सको आयाक्स एम्सटरडम भिड्नेछन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार ०७:४३