सूचनाको शक्ति - The Power Of Information

        

जयपृथ्वी साक्षर नगर घोषणा हुँदै

बझाङ । बझाङको सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिकालाई फागुन ११ गते बुधबार साक्षर नगर घोषणा गरिने भएको छ । घोषणा कार्यक्रमको पूर्वसन्ध्यामा नगर क्षेत्रका विभिन्न वार्डको अनुगमन गरिएको छ ।

नगरपालिकाले अनुगमन टोली गठन गरेर अनुगमन गरेको हो । २ बर्ष अगाडी जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र बहादुर खड्काको अध्यक्षतामा अनुगमन टोली गठन गरी १८ जना सहजकर्ता तोकेर गाउँमा डाँटा संकलन गरेर प्रगतिशिल युवासमाज र नगपालिकाको साँझेदारीमा साक्षरता अभियान चलाएको नगरपालिकाले जनाएको छ ।

नगर क्षेत्रका ११ वटै वडामा गएर केही घरधुरीमा अन्तिम अनुगमन गरेर निरक्षरहरुको नामावली संकलन गरी नगरपालिकाका टोलटोलमा सहजकर्ताहरु पठाएर पछिल्लो पटक अनुगमनका क्रममा ९५ प्रतिशत भन्दा बढीले लेखपढ गर्नसक्ने अर्थात् साक्षर व्यक्ति रहेको पाइएको जयपृथ्वी नगरपालिका शिक्षा शाखा संयोजक राजेन्द्र जोशीले बताउनुभयो ।

अनुगमनमा घरधुरी, घरको मुली, परिवार सदस्य सङ्ख्या, साक्षर व्यक्ति, निरक्षर व्यक्ति, १५ वर्ष मुनिको उमेर समूह तथा ६० वर्षभन्दा माथि उमेर समूहका व्यक्ति लगायतको विषयमा सर्वे फारमसमेत भरिएको बताइएको छ ।

सरकारको मापदण्ड अनुसार ९५ प्रतिशत व्यक्ति साक्षर रहेको अवस्थामा साक्षर गाउँ, नगर तथा जिल्ला घोषणा गर्नसक्ने व्यवस्था रहेको छ । सो मापदण्ड अनुसार जयपृथ्वी नगरपालिकामा साक्षर व्यक्ति ९५ प्रतिशत बढी रहेकाले साक्षर नगर घोषणाका लागि उपयुक्त रहेको जयपृथ्वी नगरपालिका प्राविधिक सहायक देविन्द्र जोशीले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाकामा करिब १५ सय निरक्षर व्यक्तिहरुको डाटा संकलन भएपछी साक्षरता सहजकर्ताहरु पठाएर २ बर्ष सम्म नगरपालिकाका वडा तथा टोलहरुमा साक्षरता कार्यक्रम संचालन पछी नगरपालिका साक्षर घोषणा गर्न लागिएको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार १८:१५