सूचनाको शक्ति - The Power Of Information

        

कोभिड लकडाउनका कारण चीनमा अत्यधिक वर्षा !

बीबीसी । कोभिड महामारीका कारण जारी लकडाउनका बेला कलकारखाना, सवारीसाधन लगायत वातावरण प्रदुषित गर्ने सबैजसो मूल श्रोतहरु बन्द रहँदा कार्बन उत्सर्जनको दर पनि अचानक घटेको थियो ।

यही कारणले २०२० मा चीनमा अहिलेसम्मकै भारी वर्षाको रेकर्ड हुन पुगेको वैज्ञानिकहरुले बताएका छन् । ग्रिनहाउस ग्यास र सुक्ष्म धुलोका कणहरु कम हुनुले वतावरणमा अप्रत्याशित परिवर्तन ल्याएकाले नै चीनमा भारी वर्षा भएको बताइएको छ ।

२०२० को गर्मीयामको वर्षाले चीनमा सयौँको ज्यान लिएको थियो भने लाखौँ विस्थापित भएका थिए । तर लामो समयसम्म यसरी नै कार्बन उत्सर्जन कम रहिरहने हो भने त्यसले चाहिँ यस्ता ससाना मौसमी घटना उत्पन्न नगराउने बताइएको छ ।

२०२० को जुन र जुलाईमा पूर्वी चीनका अधिकतम भूभागमा भयानक बाढी पहिरो आएको थियो । यस्तोमा खोजकर्ताहरुका अनुसार कार्बन उत्सर्जन कम हुनु नै यो एक तिहाइ वर्षाका लागि जिम्मेवार रहेको छ ।

याङजी खोलामा १९६१ पछिकै सबैभन्दा धेरै पानी परेको थियो जुन विगत ४१ वर्षसँग तुलना गर्दा ७९ प्रतिशत बढि हो । त्यसैले वैज्ञानिकहरुले यस सम्बन्धी थुप्रै रिसर्च तथा अध्ययन सुरु गरेका हुन् । र अन्तर्राष्ट्रिय टोलीले नयाँ स्पष्टिकरण पेश गर्दै यस्तो जानकारी दिएका हुन् ।

सो अध्ययनमा उनीहरुले चीनको पूर्वी र मध्यम भूभागमा पछिल्लो चार दशकको गर्मीयामको वर्षा सम्बन्धी सबै डाटा हेरेका थिए । यसमा पछिल्ला सबै वर्ष ती क्षेत्रमा धुँवा धुलो र ग्यासको उत्सजर्न लगातार बढ्नाले वर्षाको मात्रा कम रहँदै आएको देखिएको थियो ।

विशेषगरी कोइला बाल्दा उत्पन्न हुने धुँवाकै कारण पानी पर्ने दर पनि घटेको थियो । तर २०२० मा वातावरण ठीक विपरित परिस्थितिमा पुगेपछि यसरी अप्रत्याशित रुपमा जोडसँग वर्षा भएको हो । यो नयाँ जानकारी अहिले बाँकी विश्वका लागि चेतावनी पनि बनेको छ ।

किनकी हाल अधिकांश मुलुकहरु ग्रीनहाउस ग्यासको उत्सर्जन उल्लेनीय रुपमा कम गर्दै ऊर्जा प्रणालीलाई हरित्तर्फ मोड्ने प्रयास गरिरहेका छन् । तर अचानकको वातावरण परिवर्तनले यस किसिमको चीनमा जस्तो ठूलो प्रकोप निम्त्याउने खतरा भएको छ ।

तापनि विज्ञहरुका अनुसार जति प्रयास गरेपनि कुनै देशले २०२० को स्तरमा कार्बन उत्सर्जन कम गर्न सक्दैनन् किनकी त्यस समय लकडाउनले सम्पूर्ण आर्थिक क्रियाकलाप ठप्पै थियो । यसकै कारण पनि मौसम प्रणालीमा त्यति ठूलो बदलाव आउन सकेको उनीहरु बताउँछन् ।

प्रोफेसर याङ भन्छन्, ‘अचानकको परिवर्तन र बिस्तारै नियमित रुपमा नीतिगत् तरिकाले कार्बन उत्सर्जन कम गराउँदाको मौसमी प्रभावमा अवश्य पनि धेरै फरक हुनेछ ।’ यो नयाँ रिसर्च जर्नल ‘नेचर कम्युनिकेसन्स’मा प्रकाशित गरिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार १६:०२