सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन–२०७९

चैतमा म्यादी प्रहरीको भर्ना खोल्न गृहकार्य, पूर्वसुरक्षाकर्मी प्राथमिकतामा

एक लाख २० हजार म्यादी प्रहरी माग गर्ने प्रहरी प्रधान कार्यालयको तयारी

काठमाडौं । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा भएसँगै प्रहरी र अरू सुरक्षा निकायले पनि आवश्यक गृहकार्य सुरु गरेका छन् । नेपाल प्रहरीले पनि सुरक्षा रणनीतिको गृहकार्य सुरु गरेको छ ।

प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा रणनीतिका लागि आवश्यक गृहकार्य सुरु गरेको हो । प्रहरी प्रधान कार्यालयको कार्य विभागका डीआइजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचन केन्द्रित सुरक्षा समिति गठन गरिएको छ ।

समितिले आवश्यक कामहरू सुरु गरिसकेको डीआइजी धानुकले जानकारी दिए । प्रहरी प्रधान कार्यालयले आवश्यक जनशक्ति, स्रोत–साधन, बजेटलगायत विषयमा समेत गृहकार्य गरिरहेको छ ।

स्थानीय तह निर्वाचनका लागि एक लाख २० हजार म्यादी प्रहरी माग गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । उनीहरूलाई दुई महिना बराबरको तलब सुविधा माग गर्ने तयारी समेत प्रहरी प्रधान कार्यालयको छ ।

आउँदो चैतमा म्यादी प्रहरीका लागि भर्ना लिइने सम्भावना छ । भर्नामा अवकाश प्राप्त सेना, प्रहरीलाई प्राथमिकतामा राख्ने तयारी छ । अवकाशप्राप्त सेना, प्रहरीसँग अनुभव हुने भएकाले उनीहरूलाई परिचालन गर्न सहज हुने सुरक्षा निकायको बुझाइ छ ।

गृह मन्त्रालयले समेत पछिल्लो १० वर्षमा अवकाश पाएका सेना, प्रहरी र सशस्त्रको विवरण राख्न सम्बद्ध सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ । प्रहरीले विस्तृत सुरक्षा कार्ययोजना गृह मन्त्रालयमा बुझाउने तयारी गरेको छ ।

०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । योपटक एकैचरणमा हुनेछ । ०७४ सालको निर्वाचनमा ७५ हजार म्यादी प्रहरीको भर्ना लिइएको थियो । निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन हुँदै आएका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार १५:५६