सूचनाको शक्ति - The Power Of Information

        

जुम्लाबाट बाँकेदेखि अछामसम्म स्याउका बिरुवा

खलङ्गा । जुम्लाका किसानलाई यो याममा स्याउका बिरुवा बाहिरी जिल्ला निर्यात गर्न चटारो छ । चन्दननाथ नगरपालिका–८ का स्याउ किसान हरिबहादुर रोकायाले यो वर्ष ११ हजार स्याउका बिरुवा छिमेकी जिल्ला हुम्ला पठाएको बताए ।

उनले भने, ‘स्याउका बिरुवा ट्रकमा नेपालगन्ज पठाइसकेँ । नेपालगन्जदेखि जहाजमा हुम्ला लैजाने तयारी भइरहेको छ । हुम्लाका स्थानीय तहको मागअनुसार स्याउका बिरुवा पठाइएको किसान रोकायाले जानकारी दिए ।

उनले बाजुराको बूढीनन्दा गाउँपालिकामा १३ हजार ५०० बिरुवा पठाए । अहिलेसम्म रोकायाको नर्सरीमा रहेको ५० हजार बिरुवामा झन्डै २५ हजार बिरुवा निर्यात भइसकेको छ । स्याउको नर्सरी बनाएर बिरुवा हुर्काउन सके पनि पैसाको अभाव हुँदैन ।

स्याउ नर्सरी आयआर्जनको राम्रो माध्यम बन्दै आएको छ । सरकारी दरअनुसार स्याउ नर्सरी धनीले एक बिरुवाको रु ७७ मा बेच्नुपर्छ तर नर्सरी धनीले ग्राहकअनुसार केही कम मूल्यमा पनि बिरुवा बेचेको पाइएको छ ।

गुणस्तरीय स्याउका बिरुवाको माग जिल्लाबाहिर अत्यधिक छ । जिल्ला कृषि विकास कार्यालय र स्याउ सुपरजोन कार्यालयले पनि स्याउका बिरुवा किसानलाई उपलब्ध गराउँदै आएको छ । त्यो बिरुवा पनि हामीहरुबाटै जाने गरेको स्याउ किसान रोकायाले बताए ।

वर्षमा झन्डै रु तीन लाखको बिरुवा बिक्री हुने गरेको छ । निरोगी बिरुवा हुर्काउन सकियो भने खासमा यहाँका स्याउ किसानलाई आर्थिक अभाव हुनेछैन । गुणस्तरीय बिरुवा उत्पादनमा जोड दिनुपर्छ । यसका लागि पटक–पटक कृषि प्राविधिकको परामर्श लिनु आवश्यक पर्छ ।

स्याउका बिरुवा पर्याप्त लगाउने हो भने पैसा कमाउन विदेश जानुपर्दैन । सामाजिक सङ्घसंस्था र स्थानीय तहले विदेशी जातको स्याउ ल्याउन थालेकाले स्थानीय जातको स्याउ लोप हुने हो कि भन्ने चिन्ता यहाँका स्याउ किसानले बताए ।

रोेकायाले आधिकारिकरुपमा सिर्जनशील स्याउ नर्सरी फार्म खोली व्यावसायिक रुपमा स्याउका बिरुवा उत्पादन तथा बिक्री वितरण गर्दै आएका हुन् । पछिल्लो समयमा अन्य स्थानीयवासीले पनि नर्सरी दर्ता गरी सञ्चालनमा ल्याएका छन् । उक्त कार्यालयका अनुसार स्याउका बिरुवा बाहिरी जिल्ला निर्यात गर्न स्याउ किसान यो याममा लागिपरेका छन् ।

जुम्ली स्याउका बिरुवा बझाङ, बाजुरा, दैलेख, अछाम, अर्घाखाँची, हुम्ला, कालीकोट, मुगु र जाजरकोटसम्म निर्यात हुने गरेको कार्यालयका बागवानी शाखा प्रमुख सुष्मा बुढाले बताए । यहाँ उत्पादित स्याउका बिरुवा बाहिर जिल्ला निर्यात गर्दा कुनै समस्या नहोस् भनेर कार्यालयबाट सिफारिस दिने गरिएको उनको भनाइ थियो ।

जिल्लाबाट हालसम्म ४९ हजार स्याउ र ओखरका बिरुवा बाहिरी जिल्लामा निर्यात भएको छ । अहिले नर्सरीमा रेड, रोयल डेलिसियस, गोल्डेन र जनाथन जातका स्याउका बिरुवा छन् । जुम्लामा १५५ स्याउ नर्सरी दर्ता भएका उक्त कार्यालयले जनाएको छ । स्याउ सुपरजोन परियोजना जिल्लामा लागू भएपछि आफूहरुलाई प्राविधिक ज्ञानदेखि स्याउका बिरुवा काटछाँटमा निकै राहत पुगेको यहाँका स्याउ किसानले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार १५:४१