सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यमा गम्भीर खेलबाड

कौसिल्या अस्पतालको गम्भीर लापरवाहीले बालकको खुट्टा कुहियो

बाँके । बारबर्दिया नगरपालिका–९ बर्दियाका १३ वर्षीय निराजन गर्तौला खाट (खटिया) मा झर्दै गर्दा एक्कासी खुट्टा दुख्यो । परिवारका सदस्यहरुले उपचारका लागि तत्कालै (मंसिर २४ गते) कौसिल्या अस्पतालमा ल्याए । डाक्टरको सल्लाहअनुसार खुट्टाको एक्स–रे पनि यो । चोटपटक नलाग्दा पनि खुट्टा भाँचिएको रिपोर्टले परिवारलाई एक छिन अचम्मित पार्यो ।

अस्पतालले भाँचिएको पुष्टि गरेपछि उनको खुट्टामा पनि प्लास्टर भयो । ‘खाटबाट झर्ने क्रममा लडेको छोराले खुट्टा दुखेको भनेपछि कौसिल्यामा ल्याएको थिएँ,’ उनकी आमा सुन्दरा जोशी गर्तौलाले भनिन्, ‘त्यहाँ चेकजाँच गर्दा खुट्टा भाँचिएको रिपोर्ट आयो । डाक्टरको सल्लाहअनुसार खुट्टाको प्लास्टर पनि भयो ।’

‘त्यसपछि हामी छोराको खुट्टा निको हुने आशामा थियौं । तर निको होइन, अझ ठूलो समस्या हुँदै गयो,’ उनले भनिन् । त्यतिबेला अस्पतालले २८ दिनपछि निको हुने बताएको थियो । प्लास्टर गरेर उनले छोरालाई घरमै राखिन् । घरमा आएको दुई दिनपछि खुट्टा झनै सुनियो । त्यसपछि उनी अत्तालिइन् पुनः छोरालाई अस्पताल पुर्याइन् । त्यतिबेला निराजनलाई डा. बन्दना पाण्डेले उपचार गरेकी थिइन् ।

‘डा.पाण्डेले पहिलेको प्लास्टर निकाल्नुभयो र पछाडिको भागमा प्लास्टर र अगाडिको भागमा ब्याण्डेज गरिदिनुभयो,’ उनले भनिन्, ‘एक हप्तापछि पूरै भाग प्लास्टर गर्नुपर्छ भनेर हामीलाई घर पठादिनुभयो ।’ त्यति गर्दा पनि निराजनलाई निको हुने लक्षण नै देखिएन । अझ उल्टो समस्या बल्झिन थाल्यो । निको हुने संकेत नदेखिएपछि सुन्दराले छोरालाई मंसिर २९ गते कौसिल्या अस्पतालमा ल्याइन् ।

‘अस्पताल पुर्याएर प्लास्टर निकाल्दा खुट्टामा दुईवटा गहुँका दानाजत्रा फोका थिए,’ उनले मिसन टुडेसँग भनिन्, ‘डाक्टरले घर लिने अवस्था नभएको भन्दै अस्पतालमै राख्नुपर्ने बताउनुभयो ।’ डाक्टरहरुले भने जसरी आफूले रातभरि खुट्टा आइसले सेकेको आमा सुन्दराले बताइन् । ‘डाक्टर भने जसरी छोराको खुट्टा रातभरि सेक्दा खुट्टा निलो भएपछि म आत्तिए,’ उनले भनिन्, ‘बिहान ११ बजेतिर डाक्टर आएर सुईले खोप्नुभयो । बच्चा आत्तियो । सुई लगाएपछि घाउलाई निचोडनाचोड पार्नुभयो ।’

बालकको अवस्था गम्भीर बन्दै गएपछि आफन्तहरु आएर पुस १ गते दिउँसो भेरी अस्पताल नेपालगन्ज पुर्याएका थिए । आफन्तहरुकै सहयोगमा छोरालाई भेरी अस्पतालमा पुर्याइएको आमा बताउँछिन् । ‘छोराको अवस्था देखेपछि आफन्तहरुले आफैँ पैसा उठाएर भेरी अस्पताल पुर्याउनु भएको रहेछ,’ उनले भनिन्, ‘म त एक्लो छोराको अवस्था देखेर केही थाहा नपाउने भइसकेको थिए । आफन्तहरुले कौसिल्याको सबै रिपोर्टहरु भेरी अस्पतालका डाक्टरलाई देखाउँदा थाहा भयो, ‘निराजनको खुट्टा भाँचिरहेको रहेनछ ।’

भोलिपल्टअर्थात् पुस २ गते डाक्टर हरिहर देवकोटाको समूहले बालकको पाकेको खुट्टाको शल्यक्रिया गरेको थियो । ‘छोरा खुट्टा भाँचिएको छ की भनेर धेरै डाक्टरहरु आफन्तको सहयोगमा देखाए,’ आमाले भनिन्, ‘कसैले पनि खुट्टा भाँचिएको छैन भन्नुभयो । उहाँहरुले पाकेको भागको मात्रै शल्यक्रिया गर्नुभयो ।’ कौसिल्या अस्पतालको लापरबाहीका कारण खुट्टा पाकेर बालकको अवस्था गम्भीर भइसकेको थियो । कौसिल्याले गरेको गलत उपचारका कारण अहिले पनि बालकको खुट्टा ठीक हुन सकेको छैन ।

‘कौसिल्या अस्पतालको भर परेको भए मेरो छोराको ज्यान नै जाने रहेछ,’ आमा सुन्दराले भनिन्, ‘नभाँचिएको खुट्टालाई उपचार गरेर कौसिल्याले झन्डै छोरा ज्यान लिएन । कौसिल्याकै कारणले अहिलेसम्म दुःख पाइरहेका छौं ।’ नेपालगन्जस्थित भेरी अस्पतालका डाक्टर हरिहर देवकोटाले निराजनको खुट्टा भाँचिएको भन्दा पनि घाउ पाकेका कारणले शल्यक्रिया गर्नुपरेको बताए ।

‘छालाको कडा संक्रमण (इन्फेक्सन) कारण बालकको खुट्टामा घाउसमेत भएको हुनसक्छ,’ उनले भने, ‘पहिले सामान्य खटिरा आएपछि समयमै उपचार नहुँदा यस्ता अवस्था आउँछ । हामीकहाँ आउँदा धेरै नै पाकिसकेको थियो ।’ कौसिल्या अस्पतालमा कार्यरत डा. बन्दना पाण्डेले बिरामी पुर्जामा खुट्टा भाँचिएको उल्लेख गरेकी छिन् । बिरामीका विभिन्न रिपोर्टहरु मिसन टुडेले नेपालगन्ज र कोहलपुरका केही विषेशज्ञ चिकित्सकलाई देखाएको थियो ।

अधिकांश विषेशज्ञ चिकित्सकले खुट्टा नभाँचिएको र उपचारमा सुरुको चरणमा लापरबाही भएको बताएका थिए । कौसिल्याको उपचार विधि बिरामीको रोग पत्ता लगाएर सही उपचार गर्नेभन्दा पनि अनेक नाममा बिरामीका आफन्तलाई बिल धेरै थमाउने गरेको छ । बाँकेको कोहलपुरमा मुख्य कार्यालय रहेको कौसिल्या अस्पताल प्रालिले बाँसगढीमा शाखा रहेको छ । अस्पताल व्यवस्थापनका कारण अधिकांश राम्रा पार्ट टाइम काम गर्ने चिकित्सकहरुले समेत कौसिल्या छाडिसकेका छन् ।

‘खुट्टा भाँचिएकै थियो’

कौसिल्या अस्पताल प्रालि बाँसगढीमा सुरुमा बालकको उपचार गरेकी डा.बन्दना पाण्डेले खुट्टा भाँचिएको बताएकी छिन् । एक्स–रे गर्दा बालकको खुट्टा भाँचिएको देखिएकाले प्लास्टर गरेर घर पठाइएको उनले जनाइन् । नभाँचिएको खुट्टामा प्लास्टर गर्नुभएको रहेछ नी ? भन्ने मिसन टुडेको प्रश्नमा उनले भनिन्, ‘खुट्टा पनि भाँचिएको थियो । सँगसँगै उहाँको मांसपेशी इञ्जुरीमा पनि लाइन थियो ।’

खुट्टा भाँचिएको र मांसपेशी इञ्जुरी भएकोले प्लास्टर गरिएको उनले दाबी गरिन् । यद्यपि उनले खुट्टा भाँचिएको बताए पनि कौसिल्यामै गरिएको एक्स–रेमा खुट्टा नभाँचिएको चिकित्सकले बताइसकेका छन् । बालकका आफन्तहरुले नभाँचिएको खुट्टामा प्लास्टर गरेको भन्दै विरोध गरेको कुरामा कुनै सत्यता नभएको डा. पाण्डेले बताइन् ।

‘उहाँहरुको त्यो त गलत कुरा भयो । उहाँहरुलाई कति बुझाउने, सुतिरहेको मान्छेलाई उठाउन सकिन्छ तर सुतिरहेको अभिनय गरेको मान्छेलाई म उठ्दै उठ्दैन भनेपछि कसरी उठाउन सकिन्छ,’ उनले भनिन्, ‘नजानेको र नपढेको मान्छे म होइन ।’ बालकको खुट्टा सुन्निएपछि जाँच गर्दा पिपसमेत रहेको देखिएपछि भेरी अस्पताल नेपालगन्जमा रिफर गरिएको डा. पाण्डेले दाबी गरिन् ।

डाक्टरले छाडिन् जागिर

बेलाबेला विवादमा तानिने गरेको कौसिल्या अस्पताल प्रालि बाँसगढीमा डा.बन्दना पाण्डेले काम गर्न छोडेकी छिन् । गत फागुन १ गतेदेखि डा.पाण्डे अस्पतालमा काम गर्न नआएको अस्पतालका एक कर्मचारीले मिसन टुडेलाई जानकारी दिए । अस्पतालमा उपचार राम्रो नभएको बिरामीको गुनासो आइरहेका बेला उनले काम गर्न छोडेकी हुन् । स्रोतका अनुसार डा. पाण्डे कौसिल्यामा काम छोडेर काठमाडौं गइसकेकी छिन् ।

एक कर्मचारीले दिएको जानकारीअनुसार उनी अस्पताल प्रशासन र बिरामी दुवैको चेपुवामा परेकी थिइन् । डा. पाण्डेले गत माघ २४ गते उनले मिसन टुडेसँग कुरा गर्दै आफूलाई काम गर्ने वातावरण नै नरहेको बताएकी थिइन् । ‘यति मान्छेलाई टर्चर दिएर मान्छेले काम गर्न सक्दैन । यो महिनापछि म यहाँबाट काम छोडेर जाँदैछुँ,’ त्यतिबेला उनले भनेकी थिइन्, ‘तपाईंहरुलाई पनि यसबारेमा जानकारी दिनुप¥यो नी ।’ यसबारे अस्पताल प्रशासनले भने आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।

‘काम गर्दा कमजोरी हुन्छ’

कौसिल्या अस्पताल प्रालिका सञ्चालक रामप्रसाद न्यौपानेले अस्पतालबाट कमजोरी भएको होइन भन्न नमिल्ने बताएका छन् । १३ वर्षीय बालकको उपचारका क्रममा कही कतै काम गर्ने क्रममा कमजोरी भएको हुनसक्ने उनको आसय छ । ‘अस्पतालबाट कमजोरी भएको होइन भन्न मिल्दैन,’ सञ्चालक न्यौपानेले कुरा गर्दै भने, ‘काम गर्ने क्रममा के होला, कसो भयो होला । त्यसलाई त मिल्ने कुरा, गराउने कुरा भए ।’

भगवानले त गल्ती गर्छन् भने काम गर्ने क्रममा मानिसबाट गल्ती हुने उनले बताए । बालकको उपचारमा अस्पतालको कमजारी छ की छैन ? भन्ने मिसन टुडेको प्रश्नमा सञ्चालक न्यौपानेले भने, ‘काम गर्ने क्रममा कमजोरी छैन भनेर कहाँ भन्न सकिन्छ र !’

 

 

(मिसन टुडेबाट)

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार १४:५६