सूचनाको शक्ति - The Power Of Information

        

कलिला विद्यार्थीको मृत्युले शोकमा डुब्यो पाटन

टिपर दुर्घटनास्थल

बैतडी । टिपर दुर्घटनामा तीन कलिला विद्यार्थीसहित एकै वडाका चार जनाको मृत्यु भएपछि बैतडीको पाटन नगरपालिका शोकमा डुबेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोमबार बा ३ ख ४८७९ नम्बरको टिपर बैतडीको पाटन नगरपालिका–३ झालिमालीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

दुर्घटनामा एकै वडाका तीन जना कलिला बालक र एक जना वयस्क पुरुषको मृत्यु भएपछि नगरपालिका शोकमा डुबेको पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले बताए ।

‘विद्यालयबाट घर फर्किरहेका ससाना विद्यार्थी दुर्घटनामा परेको दुःखद खबरले पूरै नगरपालिका शोकमा डुबेको छ,’ उनले भने, ‘यो घटनाले हामी अत्यन्तै दुःखी भएका छौं । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’

सोमबार बिहान १० बजे विद्यालय गएर अपराह्न ४ बजे घर फर्किरहेका ७ जना विद्यार्थीमध्ये तीन जना कहिल्यै नफर्किने गरी अस्ताएका छन् भने कोही अस्पतालको शैय्यामा जीवनमरणको दोसाँधमा छन् ।

दुर्घटनामा पाटन नगरपालिका–३ गौरीशंकरस्थित सिगास माध्यमिक विद्यालयमा अध्ययनरत १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी तथा स्थानीय ४५ वर्षीय जनकराज पन्तको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

यस्तै दुर्घटनामा गम्भीर घाइते भएका अर्का विद्यार्थी १२ वर्षीय राजेश प्रसाद पन्तको भने डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य ३ जना विद्यार्थी घाइते भएका छन् ।

प्रहरीका अनुसार पाटन नगरपालिका–३ का १२ वर्षीय सुनिल भट्ट, १३ वर्षीय सुदिप पन्त र १२ वर्षीय अनिल विष्ट घाइते भएका हुन् । उनीहरूको अहिले डडेल्धुरा अस्पतालमा उपचार जारी छ । टिपर दुर्घटनामा मृत्यु तथा घाइते हुने सबै पाटन नगरपालिका वडा नम्बर ३ का हुन् ।

उनीहरू उक्त वडाअन्तर्गत जडाकोट, गुराली, बङडा र टुणीखान भन्ने ठाउँका बासिन्दा थिए । दुर्घटनाले पाटन नगरपालिका वडा नम्बर ३ का यी बस्तीमा सन्नाटा छाएको छ । मृतक ललित, जनक र राजेश पाटन नगरपालिका–३ जडाकोटका हुन् ।

जनक पाटन बजारमा पसल थाप्ने तयारीमा थिए । त्यही पसल (खोका) बनाउन भनेर उनी टिपर लिएर पाटन गएका थिए । अपराह्न ४ बजे सिगास माध्यमिक विद्यालयमा पढाइ सकिएर बिदा हुँदै थियो । त्यसै क्रममा काठ टिपरमा लोड गर्न सहयोग हुन्छ भनेर उनले विद्यालयबाट आफ्ना गाउँका केही विद्यार्थीलाई पनि सँगै झालिमाली ल्याए ।

विद्यालयबाट झालिमाली करिब २ किलोमिटर पर्छ । गाउँकै मानिसले भनेकाले सहयोग गर्न भन्दै जडाकोटका विद्यार्थी पनि टिपरमा जान राजी भए । यस क्रममा घर जान भनेर बुङडा, गुराली, टुणीखानका २०÷२५ जना विद्यार्थी पनि टिपरमा चढेको प्रत्यक्षदर्शीलाई उधृत गर्दै पाटन नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष फणेन्द्र विष्ट बताउँछन् ।

झालिमालीमा काठ लोड गर्न टिपर पछाडि सार्ने क्रममा दुर्घटना भएको हो । ‘टिपर ब्याक गर्दा केही विद्यार्थी उत्रेका रहेछन् । केही टिपरमै रहेछन्,’ वडाध्यक्ष विष्टले भने, ‘ब्याक गर्दा टायर सडकबाट तल खसेछ । त्यसपछि ब्रेक लागेन । चालक र केही विद्यार्थीले हामफाले । केही विद्यार्थी भने टिपरसँगै तल खसे ।’

टिपर सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । काठ लोड गर्न मद्दत गर्न गएका तीन विद्यार्थीको मृत्यु भयो । ‘जडाकोटका विद्यार्थी काठ लोड गर्न सघाउन गएका थिए । दुर्घटनामा उनीहरूले ज्यान गुमाएका छन,’ वडाध्यक्ष विष्टले भने, ‘पसलका लागि काठ लगिरहेका जनक पनि बितेका छन् ।’

उता प्रहरी निरीक्षक दर्शन खड्का भने दुर्घटनाको कारण खुल्न बाँकी रहेको बताउँछन् । ‘टिपर चालक फरार छन्,’ उनले भने । उनका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन । ‘टिपरमा विद्यार्थीलाई चढाउनु हुन्थेन । अरू दिन हिँडेरै जान्थे विद्यार्थीहरू’ पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारी भन्छन्, ‘छिट्टै घर पुगिन्छ भनेर टिपरमा बसेछन् । दुःखद् घटना घट्यो ।’

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार ०६:५१