सूचनाको शक्ति - The Power Of Information

        

समृद्ध कृषि

प्रभावकारी बन्दै ‘रोड कोरिडोर कार्यक्रम’

बाँके । कृषि उत्पादन वृद्धिका लागि लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको रोड कोरिडोर कार्यक्रम बाँकेमा प्रभावकारी बनेको छ ।

प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत किसानका लागि सञ्चालन गरेको रोड कोरिडोर कार्यक्रमबाट बाँकेका १०० किसान लाभान्वित भएको कृषि ज्ञान केन्द्र, नेपालगन्जले जनाएको छ ।

सो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष कृषि ज्ञान केन्द्रले किसानलाई ५० लाख रुपैयाँ अनुदान प्रदान गरेको थियो । कार्यक्रममा सहकारी संस्था, किसान समुह र व्यक्तिगत रूपमा किसान सहभागी छन् ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले गत वर्षको रोड कोरिडोर कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको जानकारी दिँदै यस वर्ष रकम घटेको भए पनि किसानले आफ्नो उत्पादन नघटाएको बताए ।

यो कार्यक्रमले किसानलाई हौसला दिने गरेको अनुदान पाएका किसानले जनाएका छन् । यो कार्यक्रम तीन वर्ष चल्ने हुँदा आगामी वर्ष पनि अहिले सञ्चालन भइरहेको किसानकै माझमा कार्यक्रम सञ्चालन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

रोड कोरिडोर कार्यक्रम सरकारको सानो सहयोगले पनि धेरै किसानको आर्थिक अवस्था उकास्ने माध्यम बनेको प्रमुख ढकालले बताए । प्राविधिकबाट कार्यक्रमको निरन्तर अनुगमन भइरहेकाले यसको प्रभावकारिता थप बढेको खजुराका किसान कृष्णविक्रम केसीले बताए ।

किसान केसीले रोड कोरिडोर कार्यक्रम किसानलाई आवश्यक पर्ने कार्यक्रम भएको बताए । रोड कोरिडोर कार्यक्रममार्फत किसानका लागि आवश्यक पर्ने सिँचाइ, पम्पसेट, पावर ट्रेलर, डेलिभरी पाइप, बीउलगायत आवश्यक परेको सामग्री अनुदानमा दिने गरिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार १७:५७