सूचनाको शक्ति - The Power Of Information

        

एमसीसीको विपक्षमा रहने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले एमसीसीको विपक्षमा रहने निर्णय गरेको छ ।

सोमबार काठमाडौंमा बसेको पार्टीको सचिवालयको बैठकले संसदमा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले संसदमा पास भएको एमसीसीको विपक्षमा पार्टीले मतदान गर्ने र विपक्षमा मतदान गर्न अन्य पार्टीहरूलाई पनि वातावरण सिर्जना गर्ने निर्णय भएको बताउनुभयो ।

प्रवक्ता खतिवडाले भन्नुभयो, ‘हाम्रो सचिवालयको बैठक जारी छ । आज छलफलको लागि समय पुगेन । हामी एमसीसीको यो प्रश्तावको संसदमा दर्ता भएको प्रश्तावको विपक्षमा उभिनेछौं । विपक्षमा उभिनका निम्ति सबैलाई भन्नेछौं र वातावरण तयार गर्नेछौं ।’

प्रवक्ता खतिवडाले सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने पनि जानकारी गराउनुभयो ।

‘हिजो दर्ता गरिएको एमसीसीको प्रश्तावको विपक्षमा मतदान गर्ने र वातावरण निर्माण गर्ने दुवै काममा हामी लाग्नेछौं,’ उहाँले भन्नुभयो, ‘सरकारमा जानु हाम्रो राष्ट्रिय आवश्यक्ता थियो । सरकारमा बस्ने र निस्किने कुरा समयले निर्धारण गर्छ ।’

प्रवक्ता खतिवडाले सरकारमा जानु पार्टीको राष्ट्रिय आवश्यक्ता भएको पनि बताउनुभयो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार १७:५३