सूचनाको शक्ति - The Power Of Information

        

विकास

आन्दोलनपछि सडक निर्माण नियमित

बाँके । सम्झौता अनुसार समयमै सडक निर्माण नहुँदा खजुराका स्थानीयावासीले आन्दोलन गरेपछि सडक निर्माण नियमित भएको छ । सम्झौता गरेको पाँच वर्ष पुगिसक्दा पनि १ हजार ८०० मिटर सडक निर्माण पुरा नभएपछि बाँके खजुराका स्थानीयावासीले आन्दोलन गरेका थिए ।

आन्दोलनपछि अहिले सो सडक निर्माण सुरु गरिएको छ । सडक निर्माणमा निर्माण कम्पनीले ढिलाइ गरेको भन्दै स्थानीयवासीले चक्काजाम गरेर आवागमन ठप्प पारेलगत्तै खजुरा बजारको १ हजार ८०० मिटर फोरलेन सडकको बाँकी निर्माण र कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ ।

सडक नबनेपछि स्थानीय युवाले दुई दिनअघि चक्का जाम गरेर सडकमा अवरो ध गरेका थिए । सडक अवरोध गरेपछि काम सुरु गरिने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको थियो र सोही प्रतिबद्धताअनुसार निर्माण कम्पनीले हाल कामलाई तीव्रता दिएको खजुराका समाजसेवी सतिश निरौलाले जानकारी दिए ।

उनले स्थानीयवासीको आन्दोलनका कारण निर्माण कम्पनीले काम सुचारु गरेको बताए । तर स्थानीयवासीले अझै पनि छिटो निर्माण पुरा हुनेमा आशङ्का व्यक्त गरेका छन् । समाजसेवी निरौलाले जनताको आन्दोलनको दबाबमा काम सुचारु गरिए पनि छिटो पुरा हुनेमा अझै शङ्का लागेको बताए ।

उनले यसअघि पनि सो निर्माण कम्पनीले पटक–पटक काम सुरु गरेको जस्तो देखाएर फेरि अलपत्र पार्दै आएकोले विश्वास नलागेको बताए । निरौलाका अनुसार लामो समयसम्म सडक खनेर छाडिएपछि केहीदिन अघिमात्र राजमार्गमा गरिएको बेस दुई सातामै उप्किएपछि धुलो उडेर आवागमन गर्ने र स्थानीय व्यवसायीलाई सास्ती खेप्नुपरेको थियो ।

खजुराको धनौली चौकीदेखि खजुरा–१ सम्मको करिब अढाइ किलोमिटर फोरलेन सडकको बेस पिच उप्किएर धुलाम्मे भएको छ । उक्त सडक निर्माणको जिम्मा गजुरमुखी कन्स्ट्रक्सनले पाएकोले स्थानीयवासीले सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै आन्दोलन गरेका थिए । सडक डिभिजन कार्यालय नेपालगन्जले भने निर्माणको कामको समयावधि ६ महिना थपिएको जनाउँदै यस पटक भने समयमा सबै काम पुरा गर्न लगाउने जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार १७:४९