सूचनाको शक्ति - The Power Of Information

        

मतदाता परिचय पत्र हराए फागुन २० सम्म निवेदन दिन सकिने

बझाङ । मतदाता परिचयपत्र हराएको नागरिकले फागुन २० भित्र निवेदन दिन सक्ने व्यवस्था रहेको छ । जिल्ला निर्वाचन कार्यालय बझाङमा आएर निवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।

परिचयपत्र हराएमा, च्यातिएमा वा नष्ट भएको हकमा कार्यालय आएर निवेदन दिन सकिने जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । कार्यालयका प्रमुख तथा जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमका अनुसार कार्यालयमा आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता, मतदाता परिचयपत्रमा उल्लेख भएको नम्बर ल्याउनुपर्नेछ ।

मतदाता परिचयपत्र नबुझिने गरी च्यातिएको भए सोही परिचयपत्र पनि ल्याउनुपर्ने कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाका सक्रिय राजनीतिक दल, सरोकारवालालाई उक्त जानकारी गराइसकेको र स्थानीय तहका नागरिकहरुलाई स्थानीय सञ्चारमाध्यमहरुमार्फत सूचना प्रसारण गरी जानकारी गराइएको जिल्ला निर्वाचन कार्यालय बझाङका कम्प्युटर अप्रेटर प्रेम बोहराले बताए ।

उनले भने, ‘मतदान गर्ने अधिकारबाट बञ्चित हुन नपरोस् भनेर फागुन २० गतेसम्म उक्त व्यवस्था गरिएको हो ।’ कार्यालयका अनुसार बझाङमा हाल सम्म १ लाख २६ हजार १२६ मतदाता दर्ता भएका छन् । जसमा महिला मतदाता दर्ता ६२ हजार १६० र पुरुष मतदाता दर्ता ६३ हजार ६६५ रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भइरहेको मतदाता नामावली दर्ता कार्य स्थानीय तह निर्वाचन घोषणासँगै निर्वाचन आयोगको निर्देशनअनुसार स्थगन गरिएको छ । १६ वर्ष उमेर पूरा भएपछि मतदाता दर्ता गर्न सकिनेछ । १८ वर्ष उमेर पूरा भएकाले मतदान गर्न सकिने व्यवस्था छ । २०७९ वैशाख ३० मा सम्पन्न हुने स्थानीय निर्वाचनमा २०७८ माघभित्र मतदाता नामावलीमा नाम दर्ता गर्नेले मत हाल्न पाउने छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार १६:४४