सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन–२०७९

जानकी गाउँपालिकाका वडाध्यक्षहरु भन्छन्, ‘फेरि नेतृत्व गर्छौ’

२०७४ मा भएको स्थानीय तहको निर्वाचनबाट बाँकेको जानकी गाउँपालिकाका ६ वटा वडामा वडाध्यक्षका रुपमा वडा नं. १ मा मो.रजा राई, वडा नंं.२ मा चन्द्रीकाप्रसाद गुप्ता, वडा नं. ३ मा बिन्देश्वरी बर्मा कुर्मी, वडा नं. ४ मा बिश्राम बर्मा, वडा नंं. ५ मा रमेशकुमार बर्मा र वडा नं. ६ मा सुरेश अहिर निर्वाचित भए ।

नागरिकले सुम्पिएको जिम्मेवारी बहन गर्न आफूहरु हरेक तवरले अघि रहेको वडाध्यक्षहरु बताउँछन् । स्थानीय तहको निर्वाचन भएको साढे चार वर्षको अवधिमा भएका विकासका कामसँग सम्बन्धीत रहेर जानकी गाउँपालिकाका ६ वटै वडाका वडाध्यक्षसँग गरिएको कुराकानीको सम्पादित अंश :

‘फेरि वडाको नेतृत्व गर्छु’

मो.रजा राई, वडाध्यक्ष, वडा नं. १, जानकी गाउँपालिका, बाँके

कार्यकालको अन्त्यसम्म आइपुग्दा वडामा बाटोघाटो बनाउनुप¥यो, स्वास्थ्यका क्षेत्रलाई प्राथमिकता दियौं । पहिलो पटक जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने अवसर आफ्ैमा चुनौती रहेको बुझेको छु । मलाई नागरिकले चुनेर पठाइसकेपछि उक्त जिम्मेवारी पुरा गर्नुपर्ने हुन्छ र त्यही अनुसार जिम्मेवारी पुरा गर्ने क्रममा हामी कार्यकालको अन्त्यतिर आइपुगेका छौं । यस क्रममा धेरै कुराहरुको अनुभव प्राप्त भएको छ । सबैतिर नयाँ नयाँ कुराहरु सञ्चालन गर्नुपर्ने र नयाँ व्यवस्थापनमा जानुपर्ने कुराले धेरै कुराहरु सिकाएको छ ।

स्थानीय तहको निर्वाचनअघि सबैतिर बाटोघाटो नभएको अवस्था थियो । हामीले जनप्रतिनिधिको जिम्मेवारी वहन गरेसँगै यो पहिलो काम भनेकै बाटोघाटो राम्रो बनाउनुपर्ने आवश्यकता पनि थियो । किनकी बाटोघाटो राम्रो भएपछि मात्रै अन्य कुराहरुको सहज व्यवस्थापन हुन्छ । यो क्रममा मेरो वडामा सबैतिर बाटोघाटो निर्माण, बाटो नभएका ठाउँमा नयाँ बाटो निर्माण, भएकालाई अझ राम्रो बनाउने काम भएको छ । त्यस्तै शिक्षाका लागि पनि कामहरु भएका छन् । स्वास्थ्यका लागि भवनहरु निर्माण गरिएका छन् ।

ल्याब सञ्चालनमा गरेका छौं । शौचालय निर्माण, फिल्ड व्यवस्थापन जस्ता कामहरु भएका छन् । मेरो आफ्नो कुनै प्रकारको प्रतिबद्धता थिएन । प्रतिबद्धता म आवद्ध भएको पार्टीले गरेको थियो । मलाई नागरिकले राम्रो काम गर्नका लागि नै तपाई लड्नुपर्छ भनेर मलाई लडाउनुभयो र जिताउनु पनि भयो । निर्वाचित भएर आइसकेपछि हालसम्म मैले नागरिकका लागि राम्रै काम गरेको छु जस्तो लाग्छ । किनकी, अहिलेम्म मेरो वडाका कुनै पनि नागरिकले तपाईले यस्तो काम गर्नुभयो, यो राम्रो भएन अथवा यो नराम्रो हो भनेर भन्नुभएको छैन ।

त्यसकारण म आफु पनि विश्वस्त छु कि मैले राम्रै काम गरेको छु । अझै पनि थुप्रै सडक बाटोहरु पुरा गर्नुपर्नेछ । मुख्यतया केही गाउँमा अझै पनि मुख्य सडक बाटोहरु निर्माण गर्न बाँकी नै छ । शिक्षामा पनि धेरै काम गर्न बाँकी छ । विद्यालयहरुमा पर्खाल लगायतका कामहरु बाँकी छन् । स्वास्थ्यमा पनि कामहरु गर्नुपर्नेछ । आगामी कार्यकालमा उक्त कुराहरु पुरा हुन्छन् होला । नागरिकले जिताएर पठाइसकेपछि अहिलेसम्म आफुलाई कसैले गाली गरेका छन् भनेर मैले पाएको छैन । किनकी मैले यसअघि पनि भने नागरिकले चुनाव जिताएर पठाएपछि उहाँहरुले मलाई गाली गर्ने कुरा नै आउँदैन । रह्यो कुरा प्रतिपक्षको, राम्रो काम गर्दा पनि प्रतिपक्षले उल्टो अर्थ त लगाइहाल्छन्, उनीहरुले गरे होलान् । त्यसमा मलाई कुनै आपत्ति छैन ।

हामीले चार वर्षदेखि निरन्तर सार्वजनिक सुनुवाई पनि गरिरहेका छौं । कार्यक्रममा कुनै व्यक्ति वा नागरिकले मलाई वा कार्यालयलाई केही भन्नुभएको छैन । गाउँपालिकामा समेत हुने सार्वजनिक सुनुवाईमा पनि मैले नेतृत्व गरेको वडाका बारेमा कसैले प्रश्न गर्नुहुन्न । हामीले अहिलेसम्म नागरिकको चाहना, भावना अनुसार नै काम गरिरहेका छौं । सायद राम्रो काम गरेरै होला । आगामी निर्वाचनमा पनि नागरिकहरुले तपाईकै नेतृत्व चाहिन्छ भन्न थालिसक्नुभएको छ । मैले अहिलेसम्म गरेको कामको नागरिकले मुल्यांकन गरिसक्नुभएको छ र मुल्यांकन गर्ने अधिकार पनि नागरिकलाई नै छ । मलाई नागरिकको साथ सहयोग पनि छ । यो साथ सहयोग निरन्तर रह्यो र मेरो पार्टीले मलाई टिकट दिएको खण्डमा फेरि पनि वडाको नेतृत्व गरेर विकास र समृद्धिमा लाग्ने प्रतिवद्धता गर्दछु ।

‘वडामा मेरो नेतृत्व, नागरिकको चाहना’

चन्द्रीकाप्रसाद गुप्ता, वडाध्यक्ष, वडा नंं २ नेवाजी गाउँ, जानकी गाउँपालिका, बाँके ।

बहुतै अनुभव भयो । पिएचडी नै गरियो भने पनि भयो । मलाई त यतिधेरै अनुभव भयो कि मानिस मेरो अघि दुई मिनेट उभियो भने उसको चरित्रबारे भन्न सक्छु जस्तो लाग्छ । शिक्षा, स्वास्थ्य, सरसफाई कसरी गर्नुपर्छ भन्ने सबै बारेमा जानकारी भएको छ । नमुना कामहरुमा मुख्यतया सडक तथा बाटोघाटो निर्माणमा बिशेष ध्यान दिएका छौं । सबै ठाउँमा पिसिसी सडक बनाएका छौं । शिक्षा, स्वास्थ्य, कृषिमा सुधार भएको छ । मुख्य बाटो मात्रै हामीले केही गर्न सकेका छैनौं ।

गाउँपालिकाबाट मैले सोचे र भरोसा गरेअनुसार काम हुन सकेको छैन । जनप्रतिनिधि आएपछि सबै कर्मचारीहरुले टेर्न थालेका पनि छन् । मैले जनाएको प्रतिवद्धता अनुसार धेरै कुराहरु पुरा भएका छन् । निम्न वर्गीय परिवारलाई माथि उठाउने मेरो पार्टीको प्रतिबद्धता अनुसार नै काम भएको छ । ती परिवारलाई बुद्धिमान, धनवान बनाउने कुराहरु मैलै बनाउन खोजेको थिए । वडापालिकाभित्रको शान्ति सु–व्यवस्था जस्ता कुरा मैले कार्यान्वयन गरेको छु ।

मैले जनतालाई सरकारी सुविधा र सेवा आउने कार्यलाई सहज र सुलभ बनाउने भन्ने कुरा गरेको थिए । नागरिकको चाहना र माग बमोजिमका कुराहरुका बारेमा पहल गरिरहेका छु । मैले कुनै कुरामा झुठो बोलेको छैन । करिब ६० प्रतिशत सडक तथा बाटो घाटोहरु निर्माण भएका छन् । शिक्षाका क्षेत्रमा अलिकति चाहेजतिको हुन सकेको छैन । कर्मचारीको व्यवस्थापन हुन नसक्दा शिक्षातर्फ अन्य कुराहरुको सुधार हुन बाँकी नै छ । हाम्रो वडाको स्वास्थ्य अवस्था नमूना कै रुपमा रहेको छ ।

यहाँको स्वास्थ्य संस्थामा वडा नं.१ र नेपालगन्ज वडा नै १७ का पनि कतिपय गर्भवति महिलाहरु सुत्केरी सेवा लिनका लागि बनकटुवास्थित स्वास्थ्य संस्थामा पुग्ने गर्नुभएको छ । कुनै कठिन रोग लाग्यो भने मात्र नेपालगन्जस्थित भेरी अस्पताल जाने गरेका छन् होइन भने सबै यही नै सेवा लिने गरेका छन् । हाम्रो वडा बालविवाहमुक्त भइसकेको छ । सबै वडामा गरिएको सर्वेक्षणबाट जानकी गाउँपालिका वडा नं २ मा बालविवाहको अवस्था एकदमै न्युन देखिएको छ ।

नागरिक मेरो लागि भगवान हुन् । नागरिकले नै मलाई साथ सहयोग दिएका छन् । मेरो सच्चा साथी भनेको सत्य हो । त्यही सत्य लिएका कारण नै मलाई सहयोग र साथ छ जस्तो लाग्छ । समाज केही त्यस्ता व्यक्तिहरु पनि हुन्छन् । जसले अरुको काममा बाधा ल्याउने तर ति सबैलाई सम्झाउने बुझाउने प्रयास गरिएको छ । बाटो निर्माण गर्ने क्रममा महिलाहरु ढुंगामुढा समेत गर्ने प्रयास पनि गरेका थिए । तर पछि त्यही ठाउँमा राम्रो भएको छ ।

मलाई चुनौतीसँग जुध्न मन पर्छ । जहाँ नबुझ्ने वर्गका नागरिक छन्, तीनलाई सम्झाउन बुझाउन अलि गाह्रो नै हुन्छ । मुख्यतया सबैभन्दा पहिला मभन्दा माथि भएका नेताहरु कतिपय ठाउँमा गलत गरिरहेका छन् । धेरैपटक भन्दा पनि सुनुवाई गरेरका छैनन् । किनकी सबै वडामा खेल मैदान हुनुपर्छ भन्दाभन्दै पनि मेरो वडामा त्यो कामको सुनुवाई भएन । त्यहाँ पनि पार्टीगत कुराले नै काम हुने गरेको पाए । जुन कुरा आवश्यक त्यसमा पनि अझै ध्यान पुगेको छैन ।

माथिल्लो तहमा रहेका नेताहरुले यस्तो कुरामा पनि बिशेष ध्यान पु¥याउनुपर्छ । वडाध्यक्षका लागि मेरो मात्रै चाहनाभन्दा मलाई फेरि निर्वाचित गराएर वडाको विकास र समृद्धिका लागि अघि सर्नुपर्छ भन्ने सुझाव वडाबासीहरुबाट आएको छ । उहाँहरु फेरि पनि तपाई नै अध्यक्ष बन्नुपर्छ भनेर सुझाव दिनुहुन्छ । राम्रो काम गरेकै कारण मलाई नागरिकको साथ र सहयोग छ । टिकट मिलेमा अवश्य पनि निर्वाचनमा उम्मेद्वारी रहनेछ ।

 

‘पालिकाकै नेतृत्व लिन तयार छु’

बिन्देश्वरी बर्मा कुर्मी, वडाध्यक्ष, वडा नं. ३, इन्द्रपुर, जानकी गाउँपालिका, बाँके

स्थानीय तहको निर्वाचनबाट निर्वाचित भइसकेपछि धेरै अनुभव रह्यो । विकास निर्माण प्रक्रियादेखि नागरिकहरुलाई सेवा प्रवाह गर्ने प्रक्रियाका कुराहरुमा सिकाई भएको छ । यस क्रममा बोल्ने र नेतृत्व क्षमता विकासमा समेत सहयोग मिलेको छ । हामी स्थानीय तहमा निर्वाचित भएपछि नन्दनी मिलदेखि इन्द्र गाउँ शिवसेना गेटसम्म र नन्दनी मिलदेखि काँरकादो सिमानासम्म कालोपत्रे सडक बनेको छ । करमोहनादेखि ढोडेगाउँसम्म कालोपत्रे सडक बन्दैछ ।

कर्बलादेखि कालिकापूर्वासम्म एक किलोमिटर नयाँ सडक खोल्न सफल भएका छौं । यो सडक गाउँपालिकाबाट कुनै आर्थिक सहयोग नलिएर बनाएका हौं । यो बाटो १२ मिटर चौडा बनाइएको हो । मोतिपुरमा एउटा पुल निर्माण गरिएको छ । इन्द्रपुरमै ६ कठ्ठा जग्गामा स्वास्थ्य चौकीको १० कोठे भवन निर्माण भएको छ । बन्जारे गाउँ विद्यालय दुई कोठे, इन्द्र गाउँ विद्यालयमा चार कोठे भवन निर्माण, जुगुनभरिया विद्यालयमा दुई कोठे भवन, करमोहना विद्यालयमा दुई कोठे भवन निर्माण गरिएको छ ।

रमुवापुर, बन्जारे गाउँ, इन्द्र गाउँ, पहाडी गाउँ लगायतका जति यो वडामा गाउँहरु छन् सबै गाउँमा आरसिसी ढलान गाउँभित्र गरिएको छ । सबैको लम्बाई हेर्ने हो भने करिब एक किलोमिटर निर्माण गरिएको छ । त्यसमा पनि सबै मापदण्ड अनुसार नै निर्माण गरिएको छ । यहाँसम्म कि धेरै व्यक्तिहरुले आफ्नो संरचना नभत्काउन अदालतमा मुद्धासमेत हाले । पछिका लागि राम्रो हुन्छ भनेर सबैतिर साँघुरो बाटोलाई चौडा बनाउन सहजीकरण र समन्वय गरेरै मापदण्ड अनुसार काम सम्पन्न गर्यौं ।

करिब ६० प्रतिशत काम भएको छ । प्रतिबद्धता अनुसार अझै केही काम गर्न बाँकी नै छ । यति हुँदाहुँदै पनि विपक्षीले राम्रो कहिल्यै भनेनन् । किनभने प्रतिपक्षको काम नै आलोचना गरिरहने हो । कतिपय ठाउँमा आफ्नै पार्टीका जो निर्वाचनमा टिकट नपाएर बस्नुभएको थियो, उहाँहरुले पनि कहिलेकाँही समस्या सृजना गरिदिनुहुन्छ । तर मैले नागरिकको पूर्ण ससाथ र सहयोग पाएको छु । अब गाली गर्ने वा नराम्रो भन्दै आलोचना गर्नेलाई के नै भन्न सकिन्छ र ? आफुले राम्रो काम गर्दै जानुपर्छ ?

हामीले निर्वाचनपछि २०७४ मा गाउँपालिकाले वडालाई १५ वटा धारा उपलब्ध गराएको थियो । तर यो वडामा सानो ठुलो गरी ३३ गाउँहरु छन् । अब त्यो आएको १५ वटा धारालाई कसरी बाँड्ने ? हामीले त शुरुमै गाउँगाउँमा पानी खानका लागि धारा वितरण गर्छौ भनेका थियो । तर आएको संख्याले हामीलाई ठुलै चुनौती भयो । यस वर्षमा पनि गाउँपालिकाले बजेट छुट्टयाएको छ । अब बाँकी घरधुरीका लागि यसैबर्ष धारा वितरण गर्नेछौं । हामी कार्यकालको अन्त्यतिर आइपुगेका छौं । धेरै कामहरु अधुरा छन् । आगामी निर्वाचनपछि त पुरा होलान् ।

वडाबासीहरुले अब गाउँपालिकाकै नेतृत्व गर्न सुझाइरहनु भएको छ । अब वडामात्रै होइन पालिकाकै नेतृत्वमा बिन्देश्वरी आउनुपर्छ र अझै धेरै राम्रा कामहरु गर्नुपर्छ भनेर हौसला दिइरहनु भएको छ । तर पार्टीले टिकट दिने नदिने कुरा महत्वपूर्ण हुन्छ । म नेपाली कांग्रेसको नेता भएकाले पार्टीले टिकट बाँड्ने कुरामा कति गाह्रो हुन्छ भन्ने मैले बुझेको छु । टिकट दियो भने गाउँपालिकाकै नेतृत्व लिनका लागि म तयार छु । यदि गाउँपालिका अध्यक्ष होइन फेरि एक पटक वडाध्यक्षमा बसेर वडाको विकास र समृद्धिमा लाग्नुस् भनेर पार्टीले निर्णय ग¥यो भने पनि म स्वीकार गर्नेछु ।

‘वडाध्यक्षको अधिकार कम भयो’

बिश्राम बर्मा, वडाध्यक्ष, वडा नं. ४, खजुराखुर्द, जानकी गाउँपालिका, बाँके

संघीयतापछिको नयाँ संरचना थियो । एक वर्ष त हामीलाई बुझ्नै लाग्यो । दोस्रो वर्ष कर्मचारी व्यवस्थापनले अलिकति चुनौती दियो । अर्को वर्ष फेरि प्रकृतिले पनि चुनौती दियो, कोरोना भाइरसको महामारी हुँदाहुँदै पनि हामी आफ्नो चुनौतीलाई चिरफार गर्दै अगाडी बढिरहेका छौं । र मोटा–मोटीरुपमा हामीले सबै सेवाहरु दिइरहेका छौं । कोरोनाका बेला पनि सबै प्रशासनिक कार्यहरु भइ नै रहे । जनतालाई सेवा दिइरह्यौं । अहिले यो सजिलो हुँदै गएको छ । सिकाई हुने कुरामा नयाँ नीति, कानूनका कुराहरु, अब गाविस हुने बेलाको स्थिति र अहिलेको स्थितिमा फरक छ ।

निर्वाचित भएदेखि अहिलेसम्म गाउँपालिका र वडा कार्यालय कसरी सञ्चालन गर्नुपर्छ भन्ने कुरामा सिकाईसँगै हाम्रो क्षमता विकास पनि भएको छ । हामी आउनुभन्दा अघि स्वास्थ्य सेवा सहज थिएन । राज्यले तोकेको अनुसार स्वास्थ्य सेवा उपलब्ध हुन गाह्रो थियो । अहिले वडामै मापदण्डका औषधिहरु उपलब्ध छ । शिक्षामा पनि नमूना कामहरु हुँदै गएका छन् । शिक्षातर्फ गुणस्तरीय पठनपाठन, भौतिक संरचना र्निाण भएका छन् । कृषिमा पनि राम्रोे हुँदै गएको छ । हामीले उन्नत जातका बीउबिजन पनि वितरण गर्ने गरिएको छ । रासायनीक मलको समस्या थियो । २०७७ सालमा वर्षामा पनि युरिया र डिएपी सुलभ तरिकाले उपलब्ध भयो । तर अहिले फरि समस्या देखिएको छ । यसतर्फ सरकारले बिशेष ध्यान पुर्याउनुपर्छ ।

हामीले घरमै गएर पशु स्वास्थ्य सेवा प्रदान गर्दै आएको छौं । निर्वाचनकै क्रममा पनि पानी परेको अवस्थामा यहाँका सडक तथा बाटोघाटोहरु हिलाम्ये भएर हिँड्न गाह्रो थियो । तर अहिले कालोपत्रे सडक, पुल पुलेसाजस्ता बनिसकेका छन् । अझै पनि धेरै कामहरु अधुरा छन् । आउने दिनमा पनि अधुरा कामहरुलाई पूर्णता दिनेछौं । हामी निर्वाचनमा होमिँदा बिभिन्न किसिमका प्रतिबद्धता थियो । हाम्रो पार्टीको समेत विभिन्न प्रतिवद्धता थिए । सबैलाई अब पल्टाएर हेर्ने हो भने मेरो वडामा करिब ८० प्रतिशत कामहरु पुरा भएका छन् । विपक्षीले खुट्टा तान्ने काम सबैतिर हुन्छ । यहाँ पनि होलान्, तर अहिलेसम्म त्यस्तो देखेको र भेटेको छैन । यहाँका जनताले सहयोग नै गर्नुभएको छ । कुनै पनि ठाउँमा अप्ठ्यारो पार्नुभएको छैन ।

नयाँ संरचना, नयाँ नियम, कर्मचारी संयोजन लगायतका कुरामा सुरुवाती चरणमा चुनौतीहरु देखिए नै, यी सबैलाई हामीले पार गर्दै अघि बढ्यौं । जनतालाई दिनुपर्ने सेवा चुस्तरुपमा दिइरहेका छौं । अझै राम्रो काम गर्नका लागि वडाध्यक्षको अधिकार कम भएको महसुस मैले गरेको छु । ३६ किसिमका कामहरुको सिफारिस नै वडाध्यक्षले गर्नुपर्ने, एउटा पुलको काम गर्नुपर्ने भए पनि हामीलाई आर्थिक कारोबार पनि वडाध्यक्ष दिनुपर्छ । किनकी नागरिकका समस्या धेरै हुन्छन् । कतिपय कुराहरु वडाध्यक्ष स्वंयले पुरा गर्नुपर्ने अवस्थालाई आर्थिक कारोवारको अधिकारले सहज बनाउँछ । हामी समाज सेवा गर्ने नियतले समाजमा उत्रिएपछि गर्नैपर्छ । भोलिका दिनमा पनि पार्टीले टिकट दिएमा नलड्ने कुरा नै हुँदैन म अवश्य लड्छु ।

‘७० प्रतिशत प्रतिवद्धता पुरा गरेका छौं’

रमेशकुमार बर्मा, वडाध्यक्ष, वडा नंं. ५, बेलहरी, जानकी गाउँपालिका, बाँके

नयाँ संरचनासँगै नयाँ कानून थियो । समस्या त समस्या नै थियो । जसोतसो कार्यकालको अन्त्यसम्म आइपुगेका छौं । सिकाई धेरै भयो । जनप्रतिनिधि भएपछि काम गर्न सोचेभन्दा धेरै फरक रहेछ । पहिला गाविसहरुमा काम गरेर गाविसमार्फत नै भुक्तानी नै पाउने गरिहाल्थे । तर अहिले त्यस्तो किसिमको छैन । अहिले भुक्तानी पाउन धेरै गाह्रो छ ।

बाटोघाटो निर्माणमा धेरै चुनौतीहरु आए, भोगियो । जानकी गाउँपालिका र त्यसमा पनि वडा नं ५ मधेशी समुदायको बाहुल्यता रहेको क्षेत्र हो । गाउँहरु एकदमै घना बस्ती छ । सडक निर्माणका क्रममा फराकिलो बनाउँदा स्थानीयले बनाउन नमान्दा धेरै चुनौतीहरु आए । हामीले सबैसँग समन्वय गरेर सडक निर्माण गर्न सफल भयौं । नागरिकले जनप्रतिनिधिलाई सहयोग गरिरहनु भएको छ । यसले पनि केही सहज भएको छ ।

गाउँपालिकाको अन्य वडाभन्दा शैक्षिक, आर्थिक, कृषि, प्रविधि, रोजगारी, स्वास्थ्य लगायत आधारभूत आवश्यकताको सवालमा बेलहरी पहिलेदेखि नै पछाडि नै परेको थियो । जनताको व्यापक गुनासो र समस्या हुँदाहुँदै बेलहरी वडापालिका अन्तरगतका गाउँबस्तीहरु ओझेलमा परेका थिए । निर्वाचनपछि हामी जनप्रतिनिधि आइसकेपछि विकास र परिवर्तनका लागि दिनरात खटेर काम गरिरहेका छौं । हाम्रो प्रमुख प्राथमिकता भनेकै सडक पूर्वाधार निर्माण र स्तरोन्नती हो ।

गाउँ समाजमा विकास भइरहेका बेला अरुलाई उक्साएर बिरोध गर्ने व्यक्ति पनि हुन्छन् । यद्यपी कार्यकालको अवधीमा ७० प्रतिशत प्रतिवद्धताहरु पुरा गरेका छौं । बाँकी कामहरु गर्नुपर्ने काम अब आउने जनप्रतिनिधिले पक्कै गर्नुहुनेछ । यहाँको स्वास्थ्य क्षेत्रको अवस्था राम्रो छ । शिक्षाको अवस्था पनि ठिकै थियो, तर कोरोनाका कारण अलिकति पछाडी धकेलिएको छ । सुधार गर्ने अवसर पनि गुमेको छ ।

जुन किसिमले जानकीको शैक्षिक सुधारमा लागेका थियौं, त्यो अनुसार गर्न सकेका छैनौं । यस वडा पनि औद्योगिक कारखाना धेरै भएकाले त्यस्ता उद्योग कलकारखानालाई राज्यले सहयोग पु¥याउनुपर्छ । तर यसले वातावरणमा फैलाइरहेको प्रदुषण नियन्त्रणका लागि सबैतिर बृक्षारोपण गर्नुपर्ने आवश्यकता छ । सडक निर्माणमा सबैभन्दा पछाडी परेको यस वडामा सडक पनि बनिरहेको छ ।

नेपालगन्ज उपमहानगरसँगै जोडिएको वडा भए पनि पर्याप्त पूर्वाधार निर्माण हुन नसक्दा धेरै उद्योगहरुले यहाँ आउने इच्छा भए पनि आउन हिचिकचाइरहेका छन् । हामीले शिक्षा, सडक, यातायात, खानेपानी लगायतका पूर्वाधारहरु निर्माण गर्नुपर्ने भए पनि लगानी अभावमा गर्न सकेका छैनौं । हामीले शिक्षा क्षेत्रलाई पनि उत्तिकै महत्व दिएका छौं । भौतिक पूर्वाधार विकासमात्रै हैन, शिक्षा क्षेत्रमा पनि यो वडा धेरै पछाडी रहेको छ । वडाको शैक्षिक अवस्थामा विगतको तुलनामा केही सुधार भएको छ ।

पहिलो कार्यकालमा हामीले सडक निर्माणलाई नै मुख्य जोड दिएका छौं । मुख्य सडकहरुसँग स–साना सहायक सडकहरु जोडेका छौं । पार्टीसँग जोडिएका कारण पार्टीले आगामी निर्वाचन लड्नका लागि जिम्मेवारी दियो भने फेरि लड्ने छु । जनताले पनि कसले कति काम ग¥यो त्यो कुरा सबै जानकारी नै छ । अन्त्यमा नागरिकको सेवा गर्ने मौका मिल्यो । यो एउटा खुशीको कुरा पनि हो ।

वडाको विकास र समृद्धि प्राथमिकतामा

सुरेश अहिर, वडाध्यक्ष, वडा नंं. ६, गनापुर, जानकी गाउँपालिका, बाँके

हामी मुलुक संघीयतामा गएसँगै नयाँ संरचना, नयाँ नीति, जटिल अवस्थाबाट अहिलेको सहज अवस्थामा पुगेका छौं । पहिलाको गाविस हुँदाको समय र अहिलेको वडा कार्यालय हुँदासम्मको अवस्थामा पनि धेरै फरक छ । पहिलाको नीति अनुसार जटिल पुर्वाधारमा पहिला १ मिटर २ मिटरको बाटो थियो । अहिलेको मापदण्ड अनुसार बनाउन पिसिसी, कालोपत्रै जस्ता कुराहरु भएका छन् । कैरातीपुरमा र चमरपुरमा नमूना काम गरेका छौं । दुई÷ढाई मिटरको बाटोलाई हामीले ९ मिटरको सडक बनाएसँगै ढल निकासको व्यवस्था ढक्कन सहितको छ । कोठारपुर र भाटनपुरमा नमूना सडकहरु निर्माण भएका छन् ।

त्यस्तै पिप्रहवामा पनि सडक निर्माण भएको छ । मावि भाटनपुरलाई नमूना विद्यालय बनाएका छौं । धेरै कामहरु नमुना नै भएको छ । निर्वाचनका क्रममा गरेका प्रतिवद्धता अनुसार ७५ प्रतिशत कामहरु पुरा गरिसकेका छौं । ६५ देखि ७० प्रतिशतसम्म मुख्यतया कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधारमा खर्च भएको छ । प्रत्येक गाउँहरु हिलाम्ये थिए । अहिले हिलो मुक्त बनेका छन् । नयाँ संरचना, नयाँ नीतिका कारण धेरै ठाउँमा बिवाद भयो । हामीले नयाँ नीति बनाएर बाटोघाटो बनाउने क्रममा नागरिकहरुले धेरै ठाउँमा झगडासमेत गर्नुभयो ।

पश्चिम नेपालकै धेरै उद्योगहरु रहेको वडा नं. ६ मा साना तथा ठूला गरी ७५ उद्योग सञ्चालनमा छन् । गाउँपालिकाले उद्योगहरुलाई व्यवस्थित गर्न उद्योगको पुँजीअनुसार न्यूनतम १० हजारदेखि २२ हजारसम्म राजस्व तोकेको छ । यी उद्योगहरुबाट बार्षिक झण्डै ४० लाख राजस्व वडापालिकामार्फत संकलन हुँदै आएको छ । यसले समग्र गाउँपालिकाकै आन्तरिक स्रोत व्यवस्थापनमा टेवा पु¥याएको छ । उद्योगहरुकै कारण स्थानीयस्तरमा रोजगारी सिर्जना भएको छ । यहाँका धेरै नागरिकहरुले गाउँमै रोजगार पाएका छन् ।

कतिपय ठाउँमा लाठी खान नपरोस भन्नका लागि भाग्नुपर्ने भएको थियो । तर अहिले सबैले वडामा राम्रो काम भयो भनेर भन्नुहुन्छ । काम गर्ने ठाउँमा नै बाधाहरु आउँछन् । कामै नहुने ठाउँमा तर आउँदै आउँदैन । त्यसकारण हामीले शुरुका दिनमा नयाँ नयाँ नीतिहरु निर्माण गरे बाटोघाटो निर्माण गर्ने क्रममा धेरै चुनौतीहरु आए । र उक्त चुनौतीलाई हामीले चिर्दै अघि बढेका छौं । आफुभन्दा जेष्ठ नागरिक गाली गरेको अवस्थामा मैले सुनेर कुनै प्रतिक्रिया जनाएको छैन । किनकी उहाँहरुको आर्शिवाद चाहिन्छ । पहिला चुनौती ल्याउने व्यक्तिले नै अहिले सहजरुपमा वडापालिकालाई साथ र सहयोग गर्दै आउनुभएको छ ।

काम गर्दै गर्दा धेरै बाधाहरु आए । त्यसलाई समाधान पनि गरियो । धेरै ठाउँहरुमा नयाँ पूर्वाधारहरुको निर्माण गरियो । शुरुशुरुमा गाली पनि धेरै खाइयो । तर अब भने सबै सहज छ । राम्रो काम भयो भनेर अब आएर नागरिकले बुझेका छन् । मैले सम्पूर्ण वडाबासीको चाहना र आवश्यकता अनुसार काम गरेकै कारण पुनः निर्वाचित गराउनुनुहनेछ भन्ने कुरामा म विश्वस्त छु । पार्टीले टिकट दियो भने म फरि निर्वाचनमा होमिँदै जितेर वडाको विकास र समृद्धिलाई प्राथमिकतामै राखेर अघि बढ्नेछु ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार १०:३५