सूचनाको शक्ति - The Power Of Information

        

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल: सातदोबाटो र बीबीसी भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा यस सिजन घटुवा हुने दुई टोलीमध्ये एक टोलीको टुंगो लागिसकेको छ।

रेलिगेसन ब्याटलका रूपमा हेरिएको खेलमा शनिबार फ्रेन्डस क्लबलाई नतिजा सुम्पिएपछि च्यासल युथ क्लब ‘बी’ डिभिजनमा घटुवा भएको थियो।

च्यासलमाथिको जीतले फ्रेन्डसले रेलिगेसन टार्ने सम्भावना बलियो पारेको थियो। तर आइतबार रेलिगेसनको डरमा रहेको जावलाखेल युथ क्लबले सो संकट टारेपछि १२औं स्थानको फ्रेन्डस र १३औं स्थानको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) मध्ये एक टोली रेलिगेसनमा पर्ने भएकाे छ।

सोमबार सातदोबाटोसँग पराजित भएमा बीबीसीको ‘ए’ डिभिजन लिग हैसियत समाप्त हुनेछ। सातदोबाटोसँग अंक बाँडेमा भने बीबीसीको ‘ए’ डिभिजनमा रहिरहने झिनो सम्भावना कायम रहनेछ।

तर प्रदर्शन र नतिजा हेर्ने हो भने सातदोबाटो बीबीसीमाथि हाबी हुन सक्छ। पहिलो पटक ‘ए’ डिभिजनमा प्रतिस्पर्धा गरेको सातदोबाटोले आफूलाई यस लिगको जायन्ट किलरको रूपमा स्थापित गर्ने क्रममा मनाङ, थ्री स्टार र नेपाल पुलिस क्लबलाई हराइसकेको छ।

सातादोबाटो ११ खेलमा १५ अंकसहित सातौं स्थानमा छ। १२औं स्थानको फ्रेन्डसको १२ खेलमा १० अंक छ भने १३औं स्थानको बीबीसीको ११ खेलमा सात अंक रहेको छ।

अन्तिम खेलमा फ्रेन्डसले हिमालयन शेर्पाविरुद्ध खेल्ने छ भने बिबिसीले थ्री स्टार क्लबको सामना गर्नेछ।

बीबीसीलाई ‘ए’ डिभिजनमा रहिरहन सोमबार सातदोबाटोमाथिको जीत पनि पर्याप्त नहुन सक्छ। त्यसका लागि बीबीसीले १३औं चरणमा हिमालयन शेर्पासँग फ्रेन्डसको हारको कामना गर्नुपर्नेछ र अन्तिम खेलमा पनि थ्री स्टारविरुद्ध कम्तीमा एक अंक जोड्नुपर्नेछ।

बीबीसीका प्रशिक्षक सानोज श्रेष्ठ भने १०औं चरणमा फ्रेन्डसलाई नतिजा सुम्पिएपछि टोली रेलिगेसनको दबाबमा आएको बताउँछन्।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार ०९:२१