सूचनाको शक्ति - The Power Of Information

        

एमसीसी टेबल गर्दा सत्ता पक्षका सांसद नै विरोधमा

आइतवार बसेको संसद बैठकमा एमसीको विरोधमा उठेका सांसदहरु ।

काठमाडौं । सरकारले अघि बढाएको अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा टेबल गर्दा सत्तारुढ दलकै सांसदले पनि विरोध जनाएका छन् ।

नेकपा एमालेको नारावाजीबीच आइतबार दिउँसो बसेको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल गर्ने कार्यसूची सुनाएलगत्तै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाले विरोध जनाएका हुन् ।

माओवादी केन्द्रबाट देव गुरुङ र कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, नेकपा एकीकृत समाजवादी पार्टीबाट झलनाथ खनाल र मुकुन्द न्यौपाने, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेमकिपाका सांसद प्रेम सुवालले विरोध जनाए । गुरुङ र पौडेल र सुवालले आफ्ना असहमति मन्तव्य नै राखे ।

संसद बैठकको कार्यसूचि तय गर्न बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुख सचेतक देव गुरुङले तीन जनाको हस्ताक्षरसहितको असहमति उभिएर सभामुखलाई दिएका थिए ।

यसैबीच आइतबार बसेको संसद बैठकमा एमसीसी टेबल भएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी अनुमोदनका लागि टेबल गर्ने प्रस्ताव गरेलगत्तै संसद बैठक स्थगित भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतवार १५:३८