सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा बैठक

सञ्चारमन्त्रीले एमसीसी टेबल गर्ने, माओवादी र एकीकृत समाजवादी विपक्षमा

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठक सकिएको छ । बैठकले एमसीसी संसदमा टेबल गर्ने निर्णय गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसीसी प्रस्तुत गर्ने काँग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

अर्थमन्त्री जनार्दन शर्माको स्वास्थ्यमा समस्या देखिएकाले घरमै आरामरत रहेको बताइएको छ । स्वास्थ्यमा समस्या देखिएकै कारण उनी आज अर्थ मन्त्रालयसमेत गएका छैनन् । त्यही भएर आज सञ्चारमन्त्रीले एमसीसी टेबल गर्न लागेका हुन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी टेवल गर्ने कार्यसूची तय भइसकेको छ । स्रोतका अनुसार गठबन्धनमा रहेका नेताहरु एमसीसी टेबल गर्न दिन लचक भइसकेका छन् । तर एमसीसी टेबल भए पनि माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायतले पास गर्न भने सघाउने छैनन् ।

स्रोतका अनुसार आज एमसीसी टेबल गर्ने कार्यसूची बनेको अवस्थामा पनि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत नगर्ने भएका छन् । उनको स्वास्थ्यमा समस्या देखिएकाले घरमै आरामरत रहेको बताइएको छ । स्वास्थ्यमा समस्या देखिएकै कारण उनी आज अर्थ मन्त्रालय समेत गएका छैनन् ।

अर्थमन्त्रीको अस्वस्थताका कारण अर्कै मन्त्रीले एमसीसी टेबल गर्ने स्रोतले बतायो । यसैबीच माओवादी केन्द्र तत्काल सरकारबाट पनि नबाहिरिने भएको छ । एमसीसी टेबल भएपछि प्रक्रिया पुरा गरेर भोटिङमा जान समय लाग्ने भएकाले त्यतिबेलासम्म माओवादी सरकारमै रहने माओवादी केन्द्रका एक जना मन्त्रीले सत्यपाटीलाई बताएका छन् ।

तर, भोटिङको बेला भने माओवादीले विपक्षमा मतदान गर्ने तयारी गरेको छ । विपक्षमा मतदानपछि नैतिकताका आधारमा पनि सरकारमा बस्न नमिल्ने भएकाले माओवादी बाहिरिनेछ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि नै एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने बताइसकेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतवार १३:५१