सूचनाको शक्ति - The Power Of Information

        

गुट्खा र पानले दुर्गन्धीत नेपालगन्ज बसपार्क

भित्तामै प्याच्च थुक्ने काउण्टरका कर्मचारी, सफा गर्ने प्रहरी (फोटोफिचर)

गलत आँचरण, गैरजिम्मेवारीपना र विकृत सोंचले यातायात व्यवसायी र टिकट काउण्टरका कर्मचारीहरुलाई ग्रस्त बनाएको छ ।

बाँके । नेपालगन्ज बसपार्क भन्नेबित्तिकै तपाईंहरूको दिमागमा कस्तो चित्र आउँला ? केही समययता नेपालगन्ज बसपार्क जानु भएको छैन भनै पक्कै यस्तो आउला, अव्यवस्थित, कोलाहल, भिडभाड, फोहोर । सम्झेरै दिक्क लाग्ने । हुन पनि नेपालगन्ज बसपार्कभित्रका चित्र र चरित्रहरु त्यस्तै देखिन्छन् ।

त्यहाँ पुगेर एकछिन उभिँदा पनि धेरैको टाउको दुख्छ । मान्छेको घन्चमन्च, ठेलामठेल र कोचाकोच । टिकट काउण्टरका भित्ताहरु गुट्खा, पान र सूर्ति खाएर थुकेका घिन लाग्दा तस्वीरहरु र कुनाकानीमा थुप्रिएको फोहोर । कतिपयलाई पत्याउन मुस्किल होला । किनकी नेपालगन्ज बसपार्क दुई बर्षअघि नै व्यवस्थित र सुविधा सम्पन्न भइसक्यो भन्ने लाग्ला ।

बसपार्कलाई अध्याधुनिक बनाउनका लागि करोडौं लगानी गरियो । संरचना फेरिए, अत्याधुनिक टर्मिनल भवन बन्यो, पार्किङ्ग क्षेत्रलाई व्यवस्थित बनाइयो । तर, यातायात व्यवसायी र टिकट काउण्टरमा बस्ने कर्मचारीहरुको सोंच फेरिएन । गुट्खा, पान र सूर्ति खाएर भित्तामै प्याच्च थुक्ने कर्मचारीको घिनलाग्दो सोंच उस्तै छ ।

टिकट काट्दै कोठाभित्रै भित्तामा प्याच्च थुक्ने काउण्टरका कर्मचारीहरु आफ्नै टेबलमूनिको फोहोर उठाउनसम्म तयार हुँदैनन् । दुर्घन्धीत काउण्टर सरसफाईमा कर्मचारीहरुको ध्यान जाँदैन । बसपार्कका वरपर लेखिएका चेतनामूलक सन्देशप्रति उनीहरुलाई कुनै वास्ता छैन । गुट्खा, पान र सूर्ति खाएर, प्याच्च थुक्ने उनीहरुको दैनिकी ।

गलत आँचरण, गैरजिम्मेवारीपना र विकृत सोंचले यातायात व्यवसायी र टिकट काउण्टरका कर्मचारीहरुलाई ग्रस्त बनाएको छ । आफ्नो घरमा खुबै सरसफाई खोज्ने तिनै कर्मचारी सरकारी भवनका भित्तामा प्याच्च थुकेर असभ्य बन्छन् । गाडीमा करोड लगानी गर्ने तिनै यातायात व्यवसायी र कर्मचारीहरु राज्यले बनाइदिएका संरचनाको सरसफाईमा रत्तिभर ध्यान दिँदैनन् ।

गुट्खा, पान र सूर्ति खाएर, प्याच्च थुकेर रंगिएका अत्याधुनिक नेपालगन्ज बसपार्कका टिकट काउण्टरका भित्ताहरु देखेरै यात्रुहरुलाई अत्यास लाग्छ । फोहोर फाल्न निश्चित ठाउँ तोकिएको छ । डस्टबीनहरु राखिएका छन्, तर यातायात व्यवसायी र कर्मचारीहरुलाई थुक्नका लागि भित्ता र फेहोर फाल्नका लागि काउण्टर कोठाका कुनाकानी भए पुग्छ ।

नेपालगन्ज नगरपालिकाले बसपार्क सञ्चालनको जिम्मा ठेकेदार कम्पनीलाई दिएको छ । ठेकेदार कम्पनीको ध्यान रकम असुल्नेतिर मात्रै छ । अझ बसपार्कभित्र बसपार्क व्यवस्थापन समिति पनि सक्रिय छ । तर न ठेकेदार न व्यवस्थापन समितिलाई दुर्गन्ध र फोहोर व्यवस्थापनको कुनै वास्ता छैन । मात्र रकम असुल्न पाए पुग्छ ।

भित्ताभरि पान, गुट्खा लगायतका सुर्तीजन्य पदार्थ खाएर थुकिएको, बसपार्क परिसरमा जताततै सूर्तिजन्य पदार्थका खोस्टा फालिएका छन् । टर्मिनल भवनका भित्ता भित्ताभरि पान, गुट्खा खाएर रंगिएका छन् । बसपार्क सञ्चालन भएदेखि सरसफाइमा कसैको ध्यान पुगेको छैन । बसपार्क व्यवस्थापन समिति शुल्क असुलेर मस्त निद्रामा छ ।

बसपार्कभित्रको सरसफाइमा बसपार्क व्यवस्थापन समितिको फिटिक्कै ध्यान छैन । बसपार्क समितिको चरम लाहपर्वाही र गैरजिम्मेवारीपनाले बसपार्क दुर्गन्धित बनेको छ । यातायात र होटल व्यवसायीहरुसँग विभिन्न नाममा शुल्क असुल्दै आए पनि बसपार्कको व्यवस्थापन तथा सरसफाईमा बसपार्क व्यवस्थापन समिति रमिते बन्ने गर्छ ।

बसपार्कभित्र जताजतै फोहर भएर दुर्गन्ध फैलिन थालेपछि प्रहरीले सरसफाईमा बिशेष चासो राख्दै आएको छ । तर, टिकट काउण्टरका झ्यालबाट प्रहरीले सरसफाई गरेको टुलुटुलु हेर्ने यातायात व्यवसायी र तीनका कर्मचारीहरु भने सरसफाई अभियानमा सक्रिय हुँदैनन् । थुकेर भित्ता रंगाउन माहिर कर्मचारीहरुलाई सरसफाईप्रति कुनै वास्ता हुँदैन ।

नेपालगन्ज बसपार्क दुर्गन्धित बन्दै जान थालेपछि अस्थायी प्रहरी पोष्ट बसपार्कको नेतृत्वमा बेलाबेलामा सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । बसपार्क दुर्गन्धित र फोहर बन्दै जान थालेपछि अभियान नै सुरु गरेर सरसफाई गर्न थालिएको अस्थायी प्रहरी पोष्ट बसपार्कका इन्चार्ज एवं प्रहरी सहायक निरिक्षक फत्तेबहादुर हमालले जानकारी दिए ।

प्रहरी एक्लैले हप्तामा एक पटक बसपार्क सरसफाई गर्दै आएको छ । प्रहरीले सरसफाई गरिरहँदा यातायात व्यवसायीहरु रमिते बनेर हेरिरहेका हुन्छन् । बसपार्कमा यातायात व्यवसायी, होटल तथा अन्य किराना व्यवसायीका साथै यात्रुहरुले समेत सरसफाइमा ध्यान नदिएकाले दुर्गन्ध बढेपछि सरसफाइ अभियान थालिएको प्रहरी सहायक निरिक्षक हमालले बताए ।

‘हामीले बसपार्कलाई सुन्दर र स्वच्छ बनाउनुपर्छ भनेर सरसफाइ अभियान सञ्चालन गरिरहेका छौं,’ उनले भने । उनले अभियानमा यातायात व्यवसायी र टिकट काउण्टरका कर्मचारीहरुको साथ नपाएको गुनासो गरे । यातायात व्यवसायीहरु हुने खाने र सम्पन्न भए पनि बसपार्कभित्रको फोहोर व्यवस्थापनमा कहिल्यै चासो दिँदैनन् ।

‘हामी बसपार्कलाई सुन्दर, सुरक्षित, व्यवस्थित बनाउनका लागि निरन्तर खटिएका छौं । तर हामीले यातायात व्यवसायी, कर्मचारी, होटल तथा किराना व्यवसायीको साथ पाएका छैनौं । उहाँहरुलाई सरसफाईबारे मतलब नै छैन ।’ अस्थायी प्रहरी पोष्ट बसपार्क खडक गिरीले यातायात व्यवसायी र काउण्टरका कर्मचारीहरुमा बसपार्क सबैको साझा सम्पत्ती भएको यसको सरसफाई र व्यवस्थापनमा ध्यान दिनुपर्छ भन्नेमा सबै सचेत बन्नुपर्ने बताए ।

यो पनि पढ्नुहोस् :

नेपालगन्ज बसपार्क सरसफाई अभियान : नेपालगन्ज बसपार्कलाई सुन्दर बनाउन खटियो प्रहरी (फोटोसहित)

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतवार १३:३३