काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र हिमालयनबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । जावलाखेल ११ खेलमा ११ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
हिमालयन ११ खेलमा १३ अंक जोडेर नवौं स्थानमा रहेको छ । दुवै टिम एकअर्कालाई हराएर अंक तालिका सुधार्ने योजनामा रहेका छन् । यस्तै, दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।
मनाङ र एनआरटीबीचको खेल दिउँसो पौने पाँच बजे सुरु हुनेछ । मनाङ ११ खेलमा २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एनआरटी ११ खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
यसअघि शनिबार भएको खेलमा च्यासल युथ क्लब ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ । फ्रेन्ड्स क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि च्यासल एक खेल बाँकी छँदै ‘बी’ डिभिजनमा घटुवा भएको हो । च्यासल तीन सिजन शीर्ष डिभिजनको लिग खेलेर रेलिगेसनमा परेको हो । च्यासल २०७३ सालमा ए डिभिजनमा बढुवा भएको थियो ।
फ्रेन्ड्सलाई जित दिलाउन जमौल एन्थोनीले दुई गोल गरे । जितसँगै फ्रेन्ड्सले १२ खेलमा १० अंक जोडेको छ । फ्रेन्ड्स लिगको १२ औं स्थान रहेको छ । च्यासल १२ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ ।
शनिबार नै भएको दोस्रो खेलमा लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले संघर्ष पूर्ण जित निकालेको छ । मछिन्द्रले १० खेलाडीमा समेटिएको थ्री स्टार क्लबलाई १–० गोल अन्तरले हराएको हो । जितसँगै शीर्ष स्थानको मछिन्द्रले १२ खेलमा ३२ अंक जोडेको छ ।
थ्री स्टारले १२ खेल १८ अंक जोडेको छ । थ्री स्टार चौंथो स्थानमा रहेको छ ।
।