सूचनाको शक्ति - The Power Of Information

        

समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोल १४५ रुपैयाँ, डिजेल/मट्टीतेल १२८ रुपैयाँ र एलपी ग्यासको मूल्य यथावत ।

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४५ रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन रुपैयाँले बढाएर १२८ रुपैयाँ तोकिएको छ । एलपी ग्यासको मूल्य यथावत राखिएको छ ।

एलपी ग्यासमा प्रति सिलिन्डर ५६० रुपैयाँ घाटा भइरहँदासमेत हाललाई यथावत राखिएको निगमले जनाएको छ । साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ । यसअघि निगमले माघ १८ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु.५.६१ ले बढेको, डिजेल रु.५.६२ ले बढेको र हवाई इन्धन रू. ४.९५ ले बढेर आएको र यस अनुरूप निगमलाई १५ दिनमा करिब रू. २ अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन परेको निगमको भनाइ छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतवार ०७:३२