सूचनाको शक्ति - The Power Of Information

        

समाचार

त्रिभुवन चोकमा ‘त्रिभुवनकै शालिक’

बाँके । नेपालगन्जको त्रिभुवन चोकमा स्वर्गीय राजा त्रिभुवनको शालिक पुनः स्थापना गरिएको छ । बाँके स्वतन्त्रबासी समुहको अगुवाईमा राजा त्रिभुवनको अर्धकदको शालिक पुनः राखिएको हो ।

प्रजातन्त्र दिवसका अवसरमा त्रिभुवनको शालिक पुनः स्थापनाका क्रममा राजाबादी तथा राप्रपा समर्थित नेता एबम कार्यकर्ताको ठूलो सहभागितामा राजा त्रिभुवनको अर्धकदको शालिक राख्न सफल भएका हुन् ।

शालिक पुनः स्थापना गर्नेक्रममा उपस्थित सहभागिहरुले ‘राजा आउ देश बचाउ’, ‘इतिहास मेट्न पाइँदैन’, हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए । २०६२÷६३ को आन्दोलनका बेला उग्र बनेको समुहले त्रिभुवन चोकको शालिक तोडफोड गरेका थिए ।

यसअघि पनि सोही स्थानमा राजा त्रिभुवनको शालिक राख्ने तयारी हुँदा बाँकेको राजनीतिक दल तथा प्रशासनले रोकेको थियो । शालिक पुनःस्थापना गर्नेक्रममा बोल्दै राप्रपका सहायक महामन्त्री ऋषिराज देवकोटाले जनताको माग र ईतिहास जोगाउन राजा त्रिभुवनको शालिक पुनः स्थापना गरेको बताए ।

उनले त्रिभुवन चोकमा राखिएको राजा त्रिभुवनको शालिक हटाए यसका विरुद्ध कडा प्रतिकार गर्ने भन्दै बाँके प्रशासनलाई चेतावनी समेत दिए । यस्तै सोक्रममा बोल्दै राप्रपाका युवा नेता एवं नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष सफिक बेहनाले लामो संघर्षपश्चात राजा त्रिभुवनको शालिक पुनः स्थापना गर्न पाउँदा खुशी ब्यक्त गरे ।

उनले कुनै पनि बहानामा राजा त्रिभुवनको शालिक हटाउन नदिने र यसका लागि प्रतिकार समेत गर्ने बताए । नेपालगन्जका अन्य चोकमा समेत फोडिएका र हटाइएका राजाहरुको शालिक पुनःस्थापना गर्दै जाने बताउँदै यो कार्यमा कसैले अबरोध खडा गरे सहेर नबस्ने र कडा प्रतिकार दिने उनले बताए ।

राजा त्रिभुवनको शालिक पुनःस्थापना गर्नेक्रममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा उनीहरुले राजा त्रिभुवनको शालिक पुनःस्थापना गरेका हुन् ।

यसअघि पुष २७ गते पृथ्वी जयन्तीका अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा राजा वीरेन्द्रको अर्धकदको शालिक राखिएको थियो । उक्त बेला नेपालगन्जमा लामो समयदेखि पटक–पटक त्रिभुवन चोक र वीरेन्द्र चोकमा राजाको शालिक स्थापना गर्न नसकेको भन्दै बाँकेका राजाबादी तथा राप्रपामाथि प्रश्न उठाइएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १७:४१